रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा रकम हस्तान्तरण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दे गाउँपालिका–७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

क्यान्सर रोगबाट निधन हुनुभएका उहाँको परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दाबी भुक्तानी गरेको हो । उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्वरानाकी श्रीमती दमन्तालाई हस्तान्तरण गर्नुभयो । हर्कबहादुरले कम्पनीको काठमाडौँ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गर्नुभएको थियो ।

कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको काफ्लेले जानकारी दिनुभयो । “काठमाडौँ गएर भुक्तानी लिन अहिलेको परिस्थितिमा सम्भव नभएकाले सबै कागजपत्र मिलाएर घरमै पुगेर रकम हस्तान्तरण गरेका हाँै”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार उक्त रकममध्ये रु १३ लाख कम्पनीका तर्फबाट र रु सात लाख वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत प्रदान गरिएको हो । मृतककी श्रीमती दमन्ताले बीमा साँच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताउनुभयो ।

सोही क्रममा उहाँले रु तीन लाख प्रिमियम एकमुष्ट भुक्तानी गरेर रु चार लाख ५२ हजार बीमाङ्कको बीमा गर्नुभएको छ ।

[sidebar name="button post"]