श्रीमद्भगवद्गीता सातौं अध्यायको महात्म्य, सोह्रश्राद्ध महात्म्य

सन्दर्भ पितृपक्ष
।। ॐ श्रीपरमात्मने नमः ।।
श्रीमद्भगवद्गीता सातौं अध्यायको महात्म्य
श्रीगणेशाय नमः

  • बच्चुराम वाग्ले

ईश्वर भन्नुहुन्छ ( हे उमा ! अब म श्रीमद्भगवद्गीताको सातौं अध्यायको महात्म्य बताउँछु सुन । यसलाई सुनेर तिम्रो कल्याण हुन्छ भने भनेर मेरो पनि कल्याण हुन्छ । कोही व्यक्तीले पढेछन् वा छपाएर राखेछन् भने तिनको पितृदोष नाश हुन्छ । यो अमृतले भरिएको घडा जस्तो छ जुन अमृतपान सर्वत्र शुभकारी छ ।

हिमवत्खण्डको दक्षिणभागमा पाटलिपुत्र नगरमा गोपुर नामक अग्लो र फराकिलो थली परेको टोल छ । त्यो टोलमा एकजना ब्राह्मण बस्दथे । उनको नाम शंकुकर्ण थियो । जन्मनाले ब्राह्मण भएपनि उनको पेशा पसले साहुजी थियो । पसल (अहिलेको मल वा सुपर मार्केट) बाट धेरै आमदनी हुन्थ्यो । उसको दैनिकी नै पसल खोल्नु र स्थानीयको जरुरत पूरा गर्नु थियो ।

त्यसरी छिमेकीको दैनिकी र समयानुकुल सामग्री उपलव्ध गराउन खटियो । उसको पसलमा सबै सामान पाउने भएपछि टाढा टाढादेखि ग्राहकको भिड रहन्थ्यो । उसले ग्राहकको आवश्यकता पूर्तिहेतु खटिनु नै जीवनको लक्ष ठानेको थियो । नाफा पनि प्रसस्त हुन्थ्यो । धेरै धन कमाएर कहाँ राखौं राखौं हुन्थ्यो । सन्तान बालकै थिए । उसले चाहिने धन सेफमा र उब्रेको सिक्का र नोटको चाङलाई उसको घरपछाडि करेशामा गाड्ने गर्थ्यो ।

धन लुकाएको थियो र समाजमा प्रतिष्ठा कमाउन वढा अध्यक्ष सदस्यदेखि नगरप्रमुख सम्मलाई पार्टी भोजभतेर गर्थ्यो । कहिले कहीं उसले विभिन्न दलका उच्च नेता र सांसद सम्मलाई भ्याउँथ्यो । सबैको तारिफले गद्गद थियो । तर, नियमित, नैमित्तिक र आकश्मिक पूजा, दान, यज्ञ, जप र दीनदुखीको सेवालाई समय दिएन ।

एक समयको कुरा हो, उसलाई चौथो विवाह पनि गर्ने सुझ चलेछ । यसले उसको परिवार बढ्ने छ र फाईदा कार्यमा घाटा हुन्न । परिवारलाई सहमत गरायो र शाखा सन्तान र बन्धुवान्धवसहित बरियात लिएर जन्ती लग्यो । लावालस्कर यात्रामा निस्कन साँझ परेको हुँदा आधा बाटोमा मध्य रात बास पर्यो । थकित भई बास बसेको बखतमा एउटा सर्पले शंकुकर्णलाई डस्यो ।

आत्तिएर बरियातमा गएका सबैलाई छटपटी देखायो । कसैले सर्पदंश उपलव्ध गर्न सकेनन् र अन्ततः सर्पको विषले गर्दा प्राण त्याग गर्यो । शरीर प्राणरहित भयो । प्राण चाँहि प्रेतात्मा भयो । कुनै समयमा प्रेतात्मा सर्प भएर जन्म लिएछ । उसलाई पूर्वजन्मको ज्ञान थियो । उसको काम बासना धनोपार्जनमा अडिएको र अन्तिम अवस्थामा सर्पलाई ध्यान गरी प्राण त्याग गरेकोले सर्प भएर नै जन्म लिनु परेको थियो ।

सर्पले पनि आत्माको आदेश पालना गर्यो र त्यही गाडधनलाई बेरेर बस्न थाल्यो । त्यो सर्पको योनिबाट पीडितथियो । उसलाई उत्तम गतिको बारेमा ज्ञान थिएन । तर, कुनै कुनै आत्मा सुन्दर विमानमा आए गएको, सन्तानलाई आशीर्वाद दिएको, तिनका सन्तानको चर्चा र गुणवखान गरेको सुनेको थियो । आफू भने धन धन भनेर बस्दा बस्दै आखिरमा डरलाग्दो सर्पले डसियो । पुनर्जन्म हुँदा सर्प नै भइयो ।

अन्त्यमा त्यही धनका आडमा बस्नु पर्यो । खै, बैकुण्ठको सुख कस्तो हुँदो हो ? उत्तम गतिको सुखबाट वञ्चित रहनुको पीडा भोगिरहेछ । एक रात शंकुकर्णका सबै छोराहरूलाई गाडधनको विषयमा सपना दिएछ । सर्पको योनीमा छँदो शंकुकर्णको आत्मा प्रेत थियो ।

सबै छोराहरूले राती नै उठेर एकआापसमा स्वप्नका विषयमा चर्चा गरे । माहिलो छोरो हत्त न पत्त कोदालो काँधमा बोकेर घरपछाडि कुदिहाल्यो । करेशामा कहाँ गाडधन छ त भन्दै भकाभक खन्न थाल्यो । त्यसरी चपराका चपरा निकालेर भूमि खोतल्दा एक भयङ्कर सर्प सामुनेमा आइ देखा पर्यो । माहिलो गर्जन्छ कि, हे मूढ ! तँ किन यहाँ आइस्? सर्प भन्छ कि त्यो जग्गा उसको बासस्थान थियो ।

तँ माहिलो चाहिँ के गर्दै छस् ? उसको बासस्थान भत्काउनुको प्रयोजन के हो? कसको आज्ञाले त्यसो गर्दैछस्? खुलस्त भन् भनेर स्पष्ट स्वरमा सवाल गरेपछि उत्साहित हुँदै माहिलोले निडरका साथ उ उसको माहिलो छोरा शिव र त्यही रातको सामुहिक स्वप्नका कारण खै गर्न गएको थियो ।

गाडधनको सुन, चाँदि, रत्न र बहुमूल्य द्रव्य उत्खनन् गर्ने कौतुहलताले उपस्थित थियो । शिवको आग्रह पछि सर्पले अट्टहास गर्दै स्पष्ट सँग भन्यो कि तँ उसको माहिलो छोरा सुपुत्र होस् भने त्यो धन पाउन उसको उत्तम गतिको मनोभावना साकार पार्न प्रस्ताव गर्यो । भन्छ कि उसको सर्प योनीबाट मुक्ति दिलाईदे । शिवले भन्यो कि त्यसबखत तपाईं हाम्रा पिताजी रहँदा जो गर्नु भयो उनीहरूलाई ज्ञान भएन र तपाइको मुक्ति मार्गका जानकारी पनि रहेन । तर, सामर्थ्यले हुन्छ भने हे पिताश्री !

म तपाईको मुक्तिको ढोका उघार्न तत्पर छु । भन्नुहोस्, के उपाय छ ? सर्पले भन्छ कि हे शिव! म तिमीहरूलाई असाद्ध्यै माया गर्छु । तिमीहरूले पनि आफ्ना क्षमताले भ्याएसम्म गरेका पनि छौ । सुन, मेरो तिथिको सोह्रश्राद्धका तिथिमा पार्वण वा महालय श्राद्धमा जो गर्छौ त्यस बखतमा श्रीमद्भगवद्गगीताको सातौं अध्याय पढ्नु(पढाउनु र सुन्नु(सुनाउनु । हे पुत्र! यो सातौं अध्यायलाई कुनै पाठले उछिन्ने सामर्थ्य राख्दैन । न कुनै दान, जपतप, यज्ञ वा कीर्तनको सामर्थ्य छ ।

श्रीमद्भगवद्गगीताको सातौं अध्याय मात्र यस्तो समर्थ पाठ छ जसले जरा, मृत्युको भयबाट छुटकारा दिई आत्मालाई शीघ्र मोक्ष दिलाउँछ । हे पुत्र! मेरो श्राद्धका दिनमा योग्य, वेदान्त, शाकाहारी, र निश्कलङ्क शुद्ध ब्राह्मण निमन्त्रणा गरी सके उनबाट वा नसके आफैंले पाठ गरेस् । श्रद्धापूर्वक भोजन गराई दक्षिणा समेत दिई विदा गर्नु । त्यसो गरेमा निःसन्देह मेरो मुक्ति हुन्छ । आफ्ना सामर्थ्यले कामना रहित वेदाङ्गका पारङ्गत ब्राह्मणद्वारा यसो भएमा तेरा सातै कुलको रक्षा हुन्छ ।

सर्प योनी प्राप्त पिताका वचन अरू भाईछोरासँग गई बेलिविस्तार भन्यो । शंकुकर्णको तिथि सोह्रश्राद्धका दिनमा सबै भाईछोराले सर्पले भने भन्दा पनि बढी गरे । श्रद्धापूर्वक र सरल तरिकाले पार्वण अर्थात् महालय परपक्षान्तर्गत सोह्रश्राद्ध सम्पन्न गर्यो । त्यहाँ उच्चारित सबै गोत्र र तिनका पितृ समेत उपायबाट मोक्ष भए । कर्ताहरूको शीरमा अनौठो स्पर्श समेत अनुभव भएको थियो । सर्पको योनीदेखि शंकुकर्णले मुक्ति प्राप्त गरि आफुले छिपाएको धन सबै छोराहरूमा बराबर गरि बाँडिदियो ।

उसका टोराहरू परिवार सन्तान सहित खुशी भए । उ पनि दिव्यदेह लिई दिव्य धामतर्फ दिव्य विमानमा सवार भयो । सबै परिवारको सहमतिले सर्पको वचन अनुसार चल्दा आफ्ना पितृको उद्दार गर्न सकिएकोमा ती प्रफुल्ल बन्दै निम्तालुलाई सक्यले विदा दिए । शंकुकर्णका छोराहरूले पनि पिताबाट पाएको गाडधनलाई पाटी पौवा, चौतारो, धारा, विश्रामस्थल, व्यायाम कृडास्थल, वृद्धाश्रम, बाटो, देवस्थल मन्दिर, कुटी धर्मशाला बनाए । जहिले जहिले पितृकार्य पर्दथ्यो तहिले तहिले श्रीमद्भगवद्गगीताको सातौं अध्याय पाठ गर्ने गर्दथे ।

कतै पितृकार्यमा निम्तामा जाँदा वा पुग्दा साथैमा श्रीमद्भगवद्गगीताको पुस्तक झिकेर सातौं अध्याय निःश्वार्थपूर्वक पाठ गरिहाल्दथे । यसले गर्दा दिन दिनै चौतर्फी उन्नति हुन थाल्यो ।

हे उमे ! यो तिमीलाई मैले जो बताएं, श्रीमद्भगवद्गगीताको सातौं अध्यायको महात्म्य सुन्नाले मात्र पनि यस जीवनमा भए गरिएका पाप नाश भई अन्त्यकालमा पुण्यात्मा हुन्छ । जो भक्तले सोह्रश्राद्धमा तर्पण, अन्नदान, पिण्डदान गरि ब्राह्मण भोजन र दक्षिणासहित विदा दिन सक्दैन उसका पितृहरू मृत्युलोकमा अलमलिईरहेका हुन्छन् ।

त्यस्ता भक्तले यो महात्म्य सुनोस्, पढोस्, पढाओस् र श्रीमद्भगवद्गगीताको सातौं अध्याय पनि पढोस् र पढाओस् । त्यसो भएमा उसका पितृहरू प्रसन्न भई आशीर्वाद दिन्छन् । उसको पितृदोष छ भने पनि पितृदोष नाश हुन्छ ।

श्रीमद्भगवद्गगीताको सातौं अध्याय ज्ञान विज्ञान योग हो, ३० श्लोकको यस पाठलाई मनन गर्नु भनी माता पार्वतीलाई श्रीमहादेवले भन्नुभयो । सोही व्यहोरा यहाँ पनि यथामति वर्णन गरियो ।

हरिःॐ ।।

[sidebar name="button post"]