बिरामीका भगवान डाक्टर, नर्स, स्वास्थ्यकर्मी : कोरोनाको यो बेला अपहेलित

रमिता दंगाल

कोरोना महामारीको यो बेला अत्यावश्यक बाहेक अरु सेवा बन्द छन् । अस्पताल तथा एम्बुलेन्स, औषधी जस्ता महत्वपूर्ण सेवा सञ्चालन हुँदै आएका छन् । कोभिड १९ अर्थात् कोरोना संक्रमण बढ्दै गएको यो बेला स्वास्थ्यकर्मीले कसरी सेवा प्रवाह गरेका छन् भनेर आम चासो छ ।

यहि चासोलाई समेटेर कागेश्वरी खबरका सहकर्मी रमिता दंगालले साढे दुई वर्षदेखि काठमाण्डौको किर्तिपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पुष्पान्जली पुनसँग कुराकानी गर्नुभएको छ ।

कोरोना संक्रमित थपिएका थपिएकै छन्, बिरामीको उपचार कसरी गर्नुभएको छ ?

संक्रमण जोखिम बढ्दो छ । तर सेवा प्रवाह रोक्नु त भएन । त्यसैले हामीले बिरामीहरुको जाँच गर्न पीपीइ चाहिँ दिएको छ । बिरामीलाई जाँच गर्दा पीपीइ लगाउने गरेका छौँ । किर्तिपुर अस्पतालमा अहिलेसम्म कोरोनाका बिरामीहरु आउनु भएको छैन । एकपटक एक जनालाई पोजिटिभ देखिएको थियो तर त्यति बेला चाहिँ हाम्रो यता कोरोनाको बिरामी राख्ने फिक्स भइसकेको थिएन । अब कोरोनाका बिरामीहरु पनि उपचार गर्ने सरकारको निर्देशन छ । अस्पतालका निर्देशकले पनि त्यसै अनुसार गर्नु भन्नुभएको छ, तर अहिलेसम्म संक्रमित बिरामीहरु चाहिँ आउनुभएको छैन ।

अहिले यो कोभिड १९ को अवस्थामा कति घण्टा काम गर्नुपर्छ ?

अहिले चाहिं हप्तामा तीन दिन डबल ड्यूटी गर्छौ । डबल ड्यूटी गरेपछि एक दिन छुट्टि हुन्छ । त्यसले गर्दा तीन दिन छुट्टि हुन्छ । तीन दिन काम भैहाल्छ ।

बिरामीहरुको र आफ्नो हेरचाह, सुरक्षा कसरी गर्नुभएको छ ?

सुरुमा हामीले बिरामी कस्तो खालको हो भनेर हेर्ने गर्छौं । अनि ज्वरोको बिरामी हुनुहुन्छ, स्वास फेर्न गाह्रो भैरहेको छ भने अनिवार्य पीपीई लगाएर नै उपचार छौ । मास्क, पञ्जा, सेनिटाईजर त अनिवार्य नै भयो ।

यस्तो बेलामा घर परिवारबाट कस्तो सहयोग पाइराख्नु भएको छ ?

मेरो परिवार चाहिँ जाजरकोटमा हुनुहुन्छ । म एक्लै भाडामा बस्ने हो । तीन वर्षदेखि त्यहि घरमा बस्दै आइरहेकी छु । अहिलेसम्म केहि भन्नु भएको थिएन, तर अहिले कोरोना आए पछि चाहिँ तपाईं अस्पतालमा काम गर्नुहुन्छ भनेर सुनाउनुहुन्छ तर डेरामा नआउनुस् अहिलेसम्म भन्नुभएको छैन । स सानो विषयमा पनि कचकच हुने गरेको छ ।

परिवारको साथ त भैहाल्यो, समाज र आफन्तको सोंचबारेमा ?

समाजमा त अहिले हेर्नु जसले पनि अस्पतालमा काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी भन्ने वित्तिकै कोरोना ल्याउँछ भन्ने सोंच बनेको छ । जुन गलत हो । बुझाउन कमजोरी भएको छ । सुरक्षाका उपाय अपनाएर बिरामी सेवामा खटिएको उहाँहरुले देख्नुहुन्न । कतिपय ठाउँमा स्वास्थ्यकर्मी माथि हातपात भएको सुनिएको छ ।

उहाँहरु बिरामी पर्दा राम्रो भने पनि नराम्रो भने पनि अन्तिममा चाहिने अस्पताल र स्वास्थ्यकर्मी नै हो । कोरोना लागेकालाई पनि उपचार गर्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी नै चाहिन्छ भन्ने बुझाउनुपर्ने र सकारात्मक व्यवहार गर्ने वातावरण बनाउन चेतना तथा प्रचारको खाँचो छ ।

समाजले कस्तो व्यवहार गर्नुपर्छ ?

सुरुमा त मैले भनिहाले समाजको सोंच नै सकारात्मक हुनुपर्छ । बोल्ने र व्यवहार गर्ने शैली परिवर्तन गर्नुपर्छ । स्वास्थ्यकर्मीको मानसिक तनावलाई कम गर्नेतर्फ जिम्मेवार हुनुपर्छ । बिरामीका भगवान डाक्टर, नर्स, स्वास्थ्यकर्मी यो बेला अपहेलित भएका छन् । समाजले अपहेलना होइन उर्जा, जाँगर र हौसला थप्नुपर्छ ।

अनि सरकारले ?

सरकारले अहिले यो अवस्थामा चाहिँ साथ दिनुपर्छ । तर सरकारले त त्यस्तो केहि गरेको नै छैन । अझ भएको सेवा, सुविधा, तलब पनि काट्दैछ । सरकारले त संकटका बेला प्रोत्साहन गर्नुपर्ने हो । संक्रमितको सहजै पीसीआर परिक्षण हुनुपर्छ । अहिले अलिक महँगो भएकाले यसमा सहज गराइदिनुपर्छ ।

सामान्य एक छाक टार्न धौ धौ हुनेले कसरी पीसीआर परिक्षण गर्न सक्छ भन्नेतर्फ पनि सरकारको ध्यान पुग्नुपर्छ । कोरोना बिरामीहरुको उपचार महंगो भैरहेको छ, महंगो उपचार हुनुहुँदैन ।

उसोभए बिरामीको मनोबल बढाउन के गर्नुहुन्छ ?

सुरुमा त परामर्श दिने हो (काउन्सेलिङ्ग) सरसफाइमा ध्यान दिनु, मास्क प्रयोग गर्नुपर्छ, सेनिटाइजर प्रयोग गर्नुपर्छ, एक अर्कामा भौतिक दुरी कायम राख्नुपर्छ भनेर सल्लाह दिने गर्ने र यी कुराहरुमा सचेत गराउने गरेका छौँ ।

बिरामीलाई सकारात्मक सोंच आवश्यक हुन्छ । यस्तो अवस्थामा अरुभन्दा पनि आफ्नो परिवारको साथ हुनुपर्छ । आत्मबल बढाउनु पर्छ ।

अनि आफ्नो मनोबल कसरी बढाई राख्नु भएको छ ?

यो अवस्थामा जुन बिरामीहरुको सेवा गर्न पाएका छौँ, त्यो नै सबै भन्दा खुशीको कुरा हो । म आफु नै कमजोर भए भने मैले कसरी बिरामीलाई सेवा दिन सक्छु भन्ने सोंचलाई नकारात्मक हैन कि सकारात्मक सोचेर म कमजोर हुनु हुँदैन भनेर आफ्नो मनोबल बढाएको हुन्छु ।

र अन्त्यमा, कुनै बेला उपचारकै क्रममा बिरामीको ज्यान जान्छ, अनुभव छ ?

यस्तो अवस्थामा एकदमै नरमाइलो लाग्छ । हामीले त हाम्रो तर्फबाट सक्ने गर्छौं । सतप्रतिशत मेहनत गरी सकेसम्म निको बनाएर पठाई दिउँ जस्तो लाग्छ र त्यहि अनुसार गरेका पनि हुन्छौँ । निको हुँदा एकदम खुशी लाग्छ तर मृत्यु हुँदा चाहिं धेरै नै नराम्रो लाग्छ ।

[sidebar name="button post"]