स्याङ्जाको वालिङ नगरपालिकामा स्मार्ट सिटीको अवधारणा अन्र्तगत ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
गत आर्थिक वर्षमा नगरपालिकाको रु। ५० लाख र शहरी विकास मन्त्रालयको सशर्त रु। पाँच लाख गरी टेण्डर प्रक्रियामार्फत जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदाहुँदै आगलागीको संभावना हुने र छाना छाउने दक्ष कामदारको अभावले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले हेरेर जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।









