अनिता धिताल
भदौ १३ काठमाडाैँ- ‘सायद अब म बाँच्दिनँ होला !’ अस्पतालको शैय्यामा दिदीको मधुरो आवाजले सीता परियारको मन भक्कानियो । उहाँका आँखा रसाय । गाजल समेत भिजाउँदै आँखाबाट बररर आँसु झर्यो । सीताले सहानुभुतिका लागि दिदीलाई के भन्ने शब्द नै पाउनुभएन । बोल्न खोज्दा गला नै रोकियो । साहस बटुल्दै उहाँले मनमनै निधो गर्नुभयो,‘अब म दिदीलाई जसरी पनि बचाउँछु, यत्तिकै मर्न दिन्न ।’
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालको बेडमा छट्रपटाइरहेकी दिदीको त्यो अवस्था सम्झदा सीता निकै भावुक बन्नुभयो । तीन वर्ष पहिला सीताले आफ्नी साईली दिदीका लागि आफ्नो मृगौला दिनुभएको थियो ।
असफल वैवाहिक जिवन र वैदेशिक रोजगारी
सविता नेपाली र सीता परियार दिदी बहिनी हुनुहुन्छ । १६ वर्षको उमेरमा सविताको विवाह भयो । तर वैवाहिक सम्बन्ध भने राम्रो भएन । त्यसपछि ८ वर्ष पहिला उहाँ वैदेशिक रोजगारका लागि कतार जानुभयो । सवितामाथि ४ वर्षको छोराको जिम्मेवारी पनि थियो ।
उहाँ लामो समय कतार बस्नुभयो । कतार बसेको झण्डै ६ वर्षपछि बिरामी पर्नुभयो । कतारको अस्पतालमा उपचार सुरु भयो । उपचारका क्रममा उहाँको दुवै मृगौलाले काम नगरेको कुरा डाक्टरहरुले बताए । डाक्टरहरुले मृगौला फेर्नुको विकल्प नभएको पनि जानकारी दिए । त्यसपछि उहाँ नेपाल फर्कनुभयो ।
नेपाल फर्किएपछि पनि सविता डाइलाइसीसको सहारामा बाँचिरहनुभयो । मृगौला प्रत्यारोपण नभए अब छिटै मर्छु भन्ने उहाँलाई लागेको थियो । जेठि दिदी सुशिला परियारले मृगौला दिने भनेपछि सवितालाई अलि साहस पलाएको थियो । तर फेरि दिदीले के सोच्नुभयो । अन्त्यमा मृगौला दिन नसक्ने बताउनुभयो ।
उहाँको पनि आफ्नै बाध्यता थियो होला । सवितालाई अलि अलि पलाएको आशा फेरि निराशामा परिणत भयो । बिरामी दिदीको आँखाबाट झरेको आँसुले सीताका मन पोल्थ्यो । बिरामी दिदीको अन्तिम क्षणको यो निराश अनुहार र आँसु देखेपछि सीताले यस्तो निर्णय लिनुभयो,‘दिदीका लागि म आफ्नो मिर्गौला दिन्छु । ’जुन निर्णयमा दिदी सविताको नयाँ जिन्दगी जोडिन्थ्यो । नयाँ संसार फर्कन्थ्यो ।
यो निर्णयपछि दिदी, आफन्त साथीभाई र समाजकोे प्रतिक्रिया
जब सीताले मृगौला दिने निर्णय गर्नुभयो त्यसपछि आफन्त, साथीभाइ तथा परिवारले यो निर्णय मान्न तयार भएनन् । यसबारे उहाँ भन्नुहुन्छ,‘जब मैले यस्तो निर्णय गरे आफन्त साथीभाइले तिमी नदेउ सानै छौ, तिम्रो जिन्दगी लामो छ, विचार गर । अहिले तिम्रो बिहे समेत भएको छैन । यस्तो निर्णय नगर भन्नुभएको थियो ।’
छोरीको यो निर्णयमा आमा पनि डराउनुभएको थियो । सीता सम्झनुहुन्छ्,‘आमाले भन्नुभएको थियो, एक छोरीको अवस्था त यस्तो भयो फेरि अर्की छोरीलाई पनि केही हुने हो कि भन्ने डर छ ।’
बिरामी दिदीले पनि आँसु झार्दै भन्नुहुन्थ्यो,‘तिमीले मृगौला दिनु पर्दैन । पछि समस्या हुन्छ होला । म डाइलाइसिस गराएर जति समय बाँच्न सक्छु बाँच्छु । तिम्रो भविष्यको बारेमा सोंच ।’ मेरो सानो उमेर र बुढी आमाको बारेमा सोचेर दिदी पनि चिन्तित हुनुहुन्थ्यो ।
अर्की काइँली दिदी पनि मृगौला दिन तयार हुनुहुन्थ्यो । तर उहाँको परिवारले दिदीको निर्णय मानेनन् । मजदुरी गरेर खानुपर्छ कसरी मिर्गौला दिनु उहाँको परिवारको भनाइ थियो । सीता भन्नुहुन्छ,‘ उहाँहरुको भनाई आफ्नो ठाउँमा ठिकै थियो, मैले नै मृगौला दिने निश्चित गरेँ ।’
अप्रेसनको लागि खर्च
त्यसपछि मृगौला प्रत्यारोपण गर्ने निश्चित भयो । प्रत्यारोपणका लागि अस्पतालले २०७४ साल पुस २४ गतेको समय दियो । अप्रेशनको लागि अस्पतालले १५ लाख रुपैयाँ लाग्छ भनेको थियो । पैसा थिएन । अब कसरी अप्रेशन गर्ने भनेर चिन्ता लाग्न थालेको थियो । सीता त्यो पल सम्झेर भन्नुहुन्छ,‘दिदीले विदेशमा कमाएको अलिअलि पैसा यसअघि खर्च भइसकेको थियो । परराष्ट्र मन्त्रालयबाट ५ लाख ६० हजार रकम सहयोग मिलेको थियो ।
चर्चबाट केही सहयोग रकम प्राप्त भएको थियो । तर पुग्ने पैसा थिएन । आफन्तको सहयोग पनि पाएका थिएनौँ । जुटाउनुपर्ने थियो १५ लाख रुपैयाँ ।’ आफैँले ऋण गरेर दिदीको मृगौला प्रत्यारोपणका लागि रकम जम्मा गरे ।
अप्रेशन अघिको अनुभव
दिदीको पीडा देखेर मृगौला दिने निश्चय त गरे । हप्तामा तीन पटकसम्म डाइलाइसिस गरेको देखेर म साह्रै विक्षिप्त हुन्थे । दिदीलाई मृगौला दिएपछि यो समस्या समाधान त हुने थियो तर अप्रेशनको दिन नजिक हुँदा डराउन थाले । दिदीको मायाले मृगौला दिने नर्णय गरिहालेँ तर अप्रेशनको क्रममा केही तलमाथि भइहाल्यो भने ? जस्ता प्रश्न मनमा आइरहन्थ्यो । बेला बेलामा डर पनि लाग्थ्यो । रातभरी निद्रा पनि लाग्दैन थियो ।’
यी कुराहरु मनमा आइरहँदा दिदीको अवस्था पनि हेर्ने गर्थेँ । उहाँको अवस्था हेर्दा यी सब डर हराएर जान्थ्यो । मलाई जे भए पनि मेरी दिदीलाई निको होस् यही सोचेर म अप्रेशन थियटरमा छिरेको थिएँ ।
अप्रेसन अगाडी डाक्टरले दिएको प्रतिक्रिया
अप्रेशन गर्न जानु भन्दा अगाडी डाक्टरले सीतालाई एउटा मृगौला निकाल्दा पनि खास फरक नपर्ने बताएका थिए । तर पनि महिलाको भन्दा पुरुषको मृगौला भए हुने डाक्टरहरुको प्रतिक्रिया थियो । तर पनि हिम्मत नहार्न डाक्टरहरुको सल्लाह थियो ।
अप्रेसन पछिको अनुभव
सीताले आँखा भरी आँसु लिएर त्यो दिनलाई सम्झनुभयो, जब अप्रेसन सकेर होसमा आएपछि दिदीलाई भेट्दा खुसीका पल….. । किनकी आफ्नो मृगौलाले गर्दा दिदीको आयु लम्बिएको थियो । एउटा बहिनी भएको कर्तव्य पुरा गरेको महसुस भएको थियो । आज मेरो कारण दिदीले पुर्नजीवन पाउनुभएको छ ।
दिदीलाई मृगौला दिएको एक घण्टा भित्रै त्यसले राम्रो काम गर्न थालिसकेको थियो । ४८ प्रतिशत काम गरेको मृगौला मलाई थियो भने दिदिलाई ५२ प्रतिशत काम गरेको मृगौला दिएको थियो । काट्न नमिलेको कारण दिदीलाई राम्रो मृगौला दिइएको थियो । अस्पतालमा दिदीलाई आठ दिन राख्नु पर्यो मलाई डाक्टरले पाचँ दिन बस्दा हुन्छ भन्नुभएको थियो तर मेरो घाउ पाकेको कारण सात दिनसम्म राखिएको थियो ।
अस्पतालबाट घर फर्किदा डाक्टरले दिएको प्रतिक्रिया
अस्पतालबाट घर फर्कने दिन डाक्टरले सीता र उहाँकी दिदीलाई स्वास््थ्यसँग सम्बधित केही सल्लाह सुझाव दिए । डाक्टरले भनेको कुरा उनी सम्झिन्छिन्, दिदीलाई बाँचुञ्जेल औषधि सेवन गर्नुका साथै पहिला जस्तो जे मन लाग्यो त्यही खान हँुदैन । हरेक कुरामा ध्यान दिनु पर्छ भन्नुभएको थियो । तर मलाई सात दिनको लागि मात्र औषधी र खानामा ध्यान दिनु चिल्लो पिरो कम खानु र पानी बढी मात्रामा खानु भन्नुभएको थियो ।
अब तपाईहरुले गाह्रो काम गर्न हुदैन । आफ्नो शरीरलाई ख्यालमा राखेर काम गर्नु पर्ने र केही महिना राम्रोसँग आराम गर्नुका साथै समय समयमा जाचँ गर्न अस्पताल आइरहनु भन्ने डाक्टरको सल्लाह थियो ।
दिदीको माया र दिदी बहिनीको सम्बन्ध
दिदीको माया कति लाग्छ भन्दा सिता भन्नुहुन्छ,‘दिदीको माया नभएको भए आफनो ज्यानै काटेर दिन सक्दिन थिए होला । दिदीले पनि त मलाई उत्तिकै माया गर्नुहुन्छ ।
हामीले अस्पतालबाट आएको तीन महिनामै दिदी बहिनी मिलेर आफ्नै घर छेउमा पार्लर खोल्यौँ । त्यही पार्लरबाट र थौरै भएको जग्गा जमिनबाट घर व्यवहार चलाई रहेका छौँ तर पार्लरबाट खासै फाइदा लिन सकेका छैनौँ । मैले नै घर व्यवहार चलाउनु पर्ने र दिदीको छोरालाई पढाउन खर्च पनि जुटाउनु पर्ने भएकोले गाह्रो भएको छ ।
सीताको बाल्यकाल
सीताको परिवार काठमाडौंकै रैथाने हुनुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका थली इन्द्रेणी टोलका बासिन्दा । सामान्य परिवारमा हुर्केकी सीताको परिवारमा ५ जना दिदी बहिनी र आमा हुनुहुन्छ । बुवाको भने क्यान्सरको कारण २०६९ सालमा ६९ वर्षको उमेरमा निधन भएको थियो । बुवाको निधन हुँदा सिता २० वर्षकी हुनुहुन्थ्यो । उहाँले १९ वर्षको उमेरमा आफ्नो दाजुलाई पनि गुमाउनुभयो । तर सीताले कहिल्यै हिम्मत हार्नुभएन ।
भविष्यको योजना
सधै जिवनलाई जित्नुभएको छ । दुखलाई अँगालेर पनि उहाँले स्नातक तहसम्मको पढाइ पूरा गर्नुभयो । अहिले भएको पार्लरबाट खासै फाइदा नभए पनि आगामी दिनमा दिदी बहिनी मिलेर राम्रो ठाउँमा पार्लर खोलेर यही काममा निरन्तरता दिने उहाँको अबको योजना छ ।









