Ad #144479

नेपालमा कोरोना संक्रमणका कारण गर्भवती सहित थप ५ जनाको ज्यान गएको छ । आज पर्सामा तीन तथा पोखरा र बुटवलमा एक÷एक जना गरी ५ जनाको ज्यान गएको हो ।

बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यसैगरी कपिलबस्तु नगरपालिका १ का ५० बर्षका पुरुषको उपचारको क्रममा गएराती ज्यान गएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलका सुचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभएको छ । हिजाे पछिल्लो २४ घण्टामा ११ जनाको सङ्क्रमणको कारण ज्यान गएकाे थियाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलकाे हिजाेकाे विवरण अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७५ पुगेको छ । त्यसपछि ५ जना थपिएका हुन् ।