कबिता चापागाई
भदौ ४, काठमाण्डौको मिनिल्याण्ड ईङ्गलीस हाई स्कुलको कक्षा १० मा पढ्ने रक्षा बराल स्कुल नगएको ६ महिना भैसकेको छ । अहिले उहाँ कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रवासमा रहेको घरमा नै बसेर दिन बिताउनुभएको छ । स्कुलले अनलाइन कक्षा चलाएको छ । तर विद्यार्थी बराल भन्नुहुन्छ,‘निरन्तर विद्यालय गएको जस्तो सजिलो हुदैन । तैपनी ध्यान दिएर पढ्ने बानी भएकाले बुझेर पढ्न सक्छन् ।’
शिक्षकहरुले किताबहरु उपलब्ध गराइदिनु भएको छ । घरमै बसेर पढने विभिन्न उपायहरु पनि सिकाउनु भएको छ । त्यसैअनुसार पढ्ने गरेको बराल बताउनुहुन्छ । अनलाईन कक्षामा विभिन्न समस्याहरु आउँछन् । कहिले पढ्दा पढ्दै नेट नचल्ने अवस्था हुन्छ ।

यस्तै गुनासो छ क्रिश्चीयन सामुदायिक विद्यालय कक्षा १० मा पढ्दै आएका अर्का विद्यार्थी लक्ष्मण खत्रीको पनि । दैनिक बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म पढाई हुन्छ । यो बाहेक अरु समय होमवर्क गर्छु खत्री भन्नुहुन्छ,‘ घर मै बसीबसी पढ्ने भएकोले कसैको डर हुदैन र धेरै पढ्न पनि मन लाग्दैन ।’ उहाँलाई पनि कहिले अवस्था सहज होला भन्ने लागेको छ । लामो समयदेखि स्कुल बन्द भएकाले अनलाइन कक्षाबाट शिक्षा दिनु परेको छ ।

विद्यार्थीले स्कुल र स्कुलले विद्यार्थी चिन्न पाएनन्
कोरोना भाइरसका संक्रमणका कारण अरु क्षेत्रमा जस्तै शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यार्थी स्कुल र स्कुलले विद्यार्थी चिन्न नपाएको ६ महिना भयोे । विद्यालयको आन्तरिक मुल्याङ्कका आधारमा एसईईको रिजल्ट आयो । अरु धेरै विद्यार्थीको पठनपाठनमा असर पुर्याएको छ । अबको शिक्षा के हुने भन्दै विद्यार्थी चिन्तित छन् । कतिपय परीक्षा सञ्चालन हुन सकेको छैनन् । शिक्षक र विद्यार्थीलाई मात्र नभई अभिभावकलाई पनि पिरोलेको छ । आफ्ना बच्चाहरुको भविष्य के होला भन्ने त्रास छ ।
छोराछोरीको भविष्य सम्झेर अभिभावक चिन्तामा
कागेश्वरी मनोहरा नगरपालिका आलापोट बस्ने राजन थापाका छोराछोरी कागेश्वरी मनोहरा नगरपालिका १ सिद्धी गणेश माध्यामिक विद्यालयमा पढ्दै छन् । छोरी कक्षा १० मा र छोरा ७ मा पढ्छन् । उहाँ भन्नुहुन्छ,‘लकडाउनले गर्दा आफ्नो व्यापार व्यवसाय चौपट्ट छ, यसको कुनै चिन्ता छैन् तर छोरा छोरीको भविष्य सम्झेर पिर लाग्छ ।’ घरमा पढ भन्यो मान्दै मान्दैनन् अनलाइन कक्षा के बुझ्लान् र ?
तैपनी नहुनु भन्दा घरमा आफु बसेको बेला कराई कराई पढाउने गरेको छु । शिक्षकहरुले पनि बच्चाहरुलाई होमर्वक दिनुहुन्छ त्यसैअनुसार पढदै छन् । बच्चाहरु विद्यालय गएर पढेको जस्तो हुदैन भन्छन् अब विद्यालय खुलाउने र जाने अवस्था पनि छैन ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका अर्का अभिभावक ब्रम्मखेल बस्ने बाबुराजा खड्का भन्नुहुन्छ,‘कोरोनाले अहिले हामीलाइ मात्र होइन विश्वलाई नै असर पारिरहेको छ । छोरा छोरीलाई धेरै पढ् भनेर दवाव दिन मन पनि लाग्दैन अब आफै बुझ्ने भैसकेका छन् । छोरी अल्पाइन माध्यामिक विद्यालय कक्षा ६ मा अनि छोराले विद्यालयको पढाई सक्काएर क्याम्पस पढ्दै गरेको उहाँ बताउनुहुन्छ ।

अनलाइन कक्षा चलाएका छौ : विद्यालय
लाखौँ विद्यार्थीहरु घरमै बसेका छन् । भने अभिभावकलाई आफ्ना बालबच्चाको भविष्यको चिन्ता छ । त्यस्तै चिन्ता छ विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि । झण्डै ६ महिना बित्यो विद्यालय सुनसान भएका छन् । विद्यालयको चौरमा झार उम्रे । ब्रम्ह कुञ्ज शिक्षा सदनका प्रध्यानाध्यापक अनिल पण्डित भन्नुहुन्छ,‘विद्यालय बन्द भएपछि त्यसको केहि हप्ताबाटै अनलाईन कक्षा सञ्चालन गरेका थियौ । पछि सरकारले केहि दिन अनलाईन कक्षा पनि सञ्चालन नगराउन निर्देशन दिएपछि हामीले बन्द गर्यो ।
केहि समय यतिकै बस्यौ र फेरि भाद्र १ गतेदेखि अनलाईन कक्षाहरु पुनः सञ्चालन गरिरहेका छौ ।’ जब सम्म सरकारले प्रत्यक्ष कक्षा सञ्चालनको लागि निर्देशन दिदैन तब सम्म अनलाइन कक्षालाई नै निरन्तरता दिनुपर्ने उहाँ बताउनुहुन्छ । विद्यार्थीहरु विद्यालयमा आएर यो वर्ष नै पढ्न नपाउने अवस्था भइसकेको छ ।
शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक उपायहरु अपनाउनुको विकल्प छैन । गुगलबाट हुन्छ कि अन्य एपहरु डाउनलोड गरेर हुन्छ विद्यार्थीलाई कक्षा निरन्तर सञ्चालन गराउने योजनामा रहेको पण्डित बताउनुहुन्छ ।

यसैगरी हिन्दु विद्यापिठ माध्यामिक विद्यालयका प्रमुख संयोजक मनोहर शर्मा पनि आफ्नो विद्यालयका विद्यार्थीहरुलाइ अनलाइनबाटै पढाउँदै आएको बताउनुहुन्छ । अनलाइन नै अहिलेको वैकल्पिक उपाय भएको हुदा यसबाट विद्यार्थीहरुले पढिरहेका छन् सकेसम्म सबै जनाले बुझ्ने तरीकाबाट कक्षाहरु सञ्चालन भइरहेका छन् । केहि समस्याहरु छन् । सरकारले जुन तरीकाबाट शिक्षा प्रणालीलाई अघि लैजान निर्देशन दिन्छ सोही अनुसार अघि बढ्ने पनि उहाँ बताउनुहुन्छ ।










