मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ ।
मौसमविद्् प्रतिभा मानन्धरका अनुसार मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल /पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ र अधिकतम तापक्रम ३०ं दशमलव ६ डिग्री सेल्सियस छ ।









