राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोकाएर रसातलमा पुर्याउने काम भएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले ऋण लिन बाध्यता रहेको अवस्थामा साहुकारले लाभ लिइरहेको बताइन् ।
लघुवित्त र सहकारीको ऋणबारे नियमन गर्न सांसद गौतमले सरकारसँग अनुरोध गरेकी छन् । ‘सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय मानिसलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो । यसबाट केही हदसम्म वित्तीय कारोबार आममानिसको पहुँचमा पुगेको देख्न सकिन्छ । तर अत्यधिक मुनाफा आर्जनको निकृष्ट उद्देश्य राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत निम्न वर्गीय मानिसलाई ऋणमाथि ऋण बोकाएर रसातलमै पुर्याउने काम भइरहेको छ,’ उनले भनिन् ।
राष्ट्र बैंकले त्यस्ता लघुवित्त र सहकारीमाथि कारबाही गर्नुपर्ने सांसद गौतमको भनाइ थियो ।









