गुह्येश्वरीमा छठ घाट निर्माण गरिँदै

काठमाडौं: राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ ।

पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंह बताए ।

विसं २०६२ अघि नै गुह्येश्वरी क्षेत्रमा स्वतस्फूर्तरुपमा छठ पर्व मनाइन्थ्यो । समितिले वैधानिकता पाएदेखि नै पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यस क्षेत्रको छठ पर्व मनाउने गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगसमेत पछिल्लो वर्षदेखि छठ पूजा समितिले सहकार्य सुरु गरेको छ ।

वाग्मती नदी सफाइका लागि अधिकार सम्पन्न वाग्मती समितिले डोजरलगायत उपकरण सहयोग गर्ने गरेको छ । छठका लागि कोषले पनि आर्थिक सहयोग गर्ने गरेको छ । विगत वर्षमा कोषले रु छ लाख २५ हजार सहयोग गरेकामा यस वर्ष रु तीन लाखमात्र दिने निर्णय गरेकाले व्यवस्थापनमा कठिनाइ आउने देखिएको उनले गुनासो गरेका छन् ।

गुह्येश्वरीमा छठ पर्व व्यवस्थापनका लागि रु १८ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ । गुह्येश्वरीमा पाँच सय जना बर्तालुले पूजा आराधना गर्न सक्नेगरी छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरी क्षेत्रमा बर्तालुलाई सहयोग गर्ने र परबाटै दर्शन गर्ने गरी तीन लाखदेखि पाँच लाखसम्म मान्छे आउने अनुमान समितिले गरेको छ । छठको विधि सुरु हुने दिन आज गुह्येश्वरी क्षेत्रमा छठ घाट एवं वाग्मती नदी सफाइ गरिएको छ ।

छठ घाटमा पाल, टेण्ट राख्ने काम पनि भइरहेको छ । एउटा घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनका लागि बुकिङ भइरहेको छ । आकर्षकरुपमा सजाइएको गुह्येश्वरी क्षेत्रको वाग्मती नदीबीचमा छठीमाईको मूर्ति बनाएर राखिने भएको छ । काठमाडौँ उपत्यकाका २८ स्थानमा छठ पूजा गर्ने गरी तयारी भएको छ ।

२०६२ सालसम्म अधिकांश तराईवासीले मनाउने गरेको छठमा हाल पहाडी समुदाय पनि सहभागी हुन थालेको समितिका सचिव राजकुमार पोद्दारले बताए । छठ पर्वमा हिन्दूमात्र नभई मुसलमान पनि सहभागी हुने गरेका छन् ।

छठ मनाउन आउनेलाई कुनै पनि किसिमको भेदभाव नगरी समानरुपमा अवसर दिने गरेको उनले सुनाए । यसरी छठ पर्व सबैको बन्न पुगेको छ ।

[sidebar name="button post"]