विगतका वर्षभन्दा फूलको माग धेरै

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उहाँले फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् ।

शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उनले बताए। “अहिले तिहारका लागि फूलको माग धेरै छ नेपालगञ्ज, धनगढी र दार्चुलाबाटसमेत फूलको माग आएको छ ।

हामीले माग अनुसार दिन सकिरहेका छैनौँ ।” उनले फूल खेतीमा राम्रो सम्भावना रहेकाले व्यावसायिक रुपमा फूलखेती गरेको बताए। “जिल्लामा फूलखेती गर्ने किसान छैनन् हामीले पनि पहिलो पटक सुरुआत गरेका छौँ । दुई बिघा जमिन भाडामा लिएर फूलखेती थालेका हौँ यसलाई निरन्तरता दिनेछौं ।

उनले तिहारको समय र विवाहको सिजनमा फूल बढी खपत हुने गरेको बताए । अहिले निर्वाचनको समयमासमेत प्रचारप्रसारदेखि विजय जुलुसमा समेत फूलको माग हुने गरेको उनले बताए । “प्रतिकिलो पाँच सयका दरले र प्रतिमाला सयका दरले बिक्री गरिरहेका छौँ ।

एक किलो फूलको पाँचदेखि सात मालासम्म बनाउन सकिन्छ । दुई बिघामा फूलखेती गर्न पाँच लाख लगानी गरेको उहाँले बताए । फूल बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ । यहाँ उत्पादन भएको फूल काठमाडौँसम्म पठाउने लक्ष्य छ ।

उनले यसवर्ष सरकारले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग अझ बढेको बताए । विगतका वर्षमा भन्दा अहिले फूलको माग धेरै छ । अहिले भारतबाट आउने फूल पनि रोकिएको छ त्यसले पनि फूलको माग धेरै छ ।

[sidebar name="button post"]