काठमाडौँ : तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ ।
पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।
तिहारको पहिलो दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । पीङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाड हो तिहार।
पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो।
यसरी रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस् साथै दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ। तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।
अन्तिम दिन भाइटीका
भाइतिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाइवीचको आत्मियता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ।
परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख,समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा भाइटीकालाई लिइन्छ।
यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ।
दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरि टीका लगाउने चलन पनि छ। यसरी तिहारका ५ दिन रमाइलो गरि मनाउने गरिन्छ । तिहारले हाम्रो साँस्कृतिक महत्व बचाइराखेको छ। यस वर्ष भने विगत जस्तो छैन । कोरोना प्रभावका कारण खुलेर चाडपर्व मनाउन पाउने अवस्था छैन। तैपनि स्वास्थ्य मापदण्ड पूरा गरि दशैं मनाइयो, तिहार पनि अब यसरी नै मनाउनु पर्ने अवस्था छ।
कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११: ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।
यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ। नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्कन भने छोडेको छैन।











