८ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको छ।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढ्दै गएको हो।
आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ।
आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।








