काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ ।
काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचन लक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो । अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समुह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
मङ्गलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्क विज्ञसँग छलफल गरेको थियो । यसअघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्याङ्क विज्ञद्वारा तथ्याङ्क प्रशोधन÷अनुगमन विधिबारे संक्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए ।
यसअघि, काउन्सिलले २०६४ सालको संविधानसभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यमको विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।









