निर्वाचन आचारसंहिता नियमित अनुगमन गर्न प्रेस काउन्सिललाई आयोगको पत्र

काठमाडौं: निर्वाचन आयोगले पत्रकार तथा सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ।

यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो ।

शुक्रबार आयोगले काउन्सिललाई पत्र पठाउँदै निर्वाचन आचारसंहिता कार्यान्वयनको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नियमित अनुगमन गर्न भनेको हो।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता, आमसंचारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै यस्तो निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

[sidebar name="button post"]