काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् ।
बिहीबार सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ का मतदातासँगको भेटमा उनले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन्।
‘मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाडौं) बसेर पनि हुन्थेँ । तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईंहरूको भेट यसरी हुने थिएन । यहाँको समस्या मैले थाहा पाउने थिइनँ,’ उनले भनिन् ।
अभिनेतृ थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफंै समाप्त हुने दावी समेत गरिन् । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उनँको भनाई थियो ।









