आचारसंहिता पालना गराउन कार्यालय प्रमुखहरूलाई आयोगको निर्देशन

काठमाडौं: आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आज (बिहीबार) आयोगले सरकारी र मातहतका कार्यालय प्रमुखहरूलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।  राजनीतिक दल तथा उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आयोगले निर्देशन दिएको छ ।

‘निर्वाचन आचारसंहिता, २०७९ विपरित कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी तथा निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने दायित्व भएका कुनै व्यक्तिलाई उपरोक्त निर्णय बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबाही गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेस गर्न निर्वाचन आयोगको सचिवालयलाई निर्देशन दिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।

[sidebar name="button post"]