काठमाडौं: सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
गठबन्धनको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ। ‘तदनुरुप सम्बन्धित पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्ने छ । निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा असोज २६ गते दिउसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने व्यवहोरा अवगत गराइन्छ,’ निर्णयमा भनिएको छ।










