रवीन्द्र मिश्र भिड्ने ठाउँमा पनि एमालेको उम्मेदवार किरण पौडेल

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाउने भएको छ। हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् ।

उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए । राप्रपासँग तालमेलको तयारी गरे पनि एमालेले यहाँ पौडेललाई टिकट दिएको एमाले जिल्ला अध्यक्ष कृष्ण राईले बताए।

राप्रपाबाट रवीन्द्र मिश्रले यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। विवेकशील साझाबाट केही समयअघिमात्र राप्रपा प्रवेश गरेका मिश्रले नयाँ बानेश्वरको बानेश्वर ब्याङ्क्वेटबाट उम्मेदवारी घोषणा गरेका हुन्।

शनिवारसम्ममा दुई पार्टीबीच चुनावी तालमेलबारे अन्तिम निर्णय हुने बताइएको छ । राप्रपासँग तालमेलका लागि एमालेले केही क्षेत्रमा उम्मेदवार तय नगरी खाली राखेको छ । तर, काठमाडौं १ मा एमालेले लगभग उम्मेदवारको टुंगो लगाएको छ ।

रवीन्द्रले यसअघि आफैले पनि बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । उनले काठमाडौं १ मा सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए ।

[sidebar name="button post"]