काठमाडौँ: बडा दसौंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो ।
विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ ।
अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो । अघिपछि ट्राफिक व्यवस्थापनमा चार÷पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् ।
त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलङ्कीमा गाडी कुरेर बस्नुभएका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताउनुभयो । उहाँले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गरेका छन् ।
सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्ला सोझ¥याइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ । “अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो ।
दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।” आजसम्म सुरक्षित यात्रा भएको छ । ठूला दुर्घटना निम्तिएका छैनन् । यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् ।
यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् । प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरु आज र भोलि उपत्यका छाड्ने बताउनुभयो । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफट्ट पसल खुलेका छन् ।









