चाडपर्वमा महिलालाई घरयासी कामको बोझ

टीकापुर: चाडपर्वका समयमा महिलालाई घरको काम थपिने गरेको छ । महिलालाई भान्सा तथा घर सरसफाइबाट फुर्सद पाउन मुस्किल हुने गरेको बताउँछन् ।

नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्ने रहर सबैलाई हुन्छ तर अधिकांश घरका महिलाको दिन भान्सामै बित्ने गर्दछ । टीकापुरकी झुप्री साउँदको घरमा दशैँँ तथा तिहारका समयमा पाहुना बढ्छन् । यो समयमा उनका नन्द, आमाजू, भान्जाभान्जीलगायतका पाहुनाले घर भरिन्छ ।

दशैँँदेखि तिहारसम्म झुप्रीलाई घरको काम भ्याइनभ्याइ हुन्छ । “घरमा पाहुना भएपछि खानाको जोहो गर्नुप¥यो, बढी मानिस भएपछि घर पनि फोहोर हुन्छ । मलाई त पानी खानसमेत फुर्सद मिल्दैन । बिहानको खाजा, त्यसपछि खाना, दिउँसो नास्ता, अझ बेलुकाको खाना, त्यसैमाथि कुनै नयाँ परिकार खाऔँ भन्छन्, दिन पूरै भान्सामा बित्छ ।

झुप्रीलाई यति धेरै काम गर्नुपर्दा परिवारका सदस्यले नसघाउँदा भने पीडा हुन्छ । बुहारी हो भनेर सबै काम मैले नै गर्नुपर्छ । काम त सबै मिलेर गरेको भए चाडपर्व पनि रमाइलो लाग्थ्यो ।श्रीमान्ले किनेर ल्याइदिने काम गर्नुहुन्छ । बाँकी सबै व्यवस्थापन आफैँले गर्नुपर्छ । दिनभरिको कामले थकान हुन्छ ।

चाडपर्वका समयमा महिलाले पूजाका लागि सामग्री मिलाउनेदेखि भान्सामा पकाउने, खुवाउने सबै सबै जिम्मेवारी निर्वाह गर्नुपर्छ । घरभित्रका सबै काम प्रायः महिलाले गर्नुपर्छ भन्ने चलनले पश्रय पाएको छ । घरभित्रका सबै काम सम्हाल्दै आएका महिलालाई चाडपर्वमा अझ बढी जिम्मेवारी थपिन्छ । जानकी गाउँपालिकाकी साधना विकका घरमा समेत यस्तै हुन्छ ।

चाडपर्वमा उनलाई पनि कामले च्याप्छ । चाडपर्व परिवारका लागि रमाइलो हुन्छ तर मेरा लागि बोझ हुन्छ । परिवारका अन्य सदस्यबाट सहयोगको अपेक्षा त गर्छु तर उनीहरुले सघाउनु हुन्न । भान्सा र घर सफा गर्ने काम महिलाको हो भन्छन् ।साधनालाई एकातिर गाईवस्तुका लागि आहारा जटाउनु, अर्कोतर्फ चाडपर्वमा मीठा मीठा तथा मासुका थरिथरिका परिकार पकाउनु पर्दा निकै झण्झट लाग्छ ।

घरभित्र गर्ने तर नदेखिने कामका बारेमा कसैले देख्दैन । कहिलेकाहीँ महिला भएकै कारण यतिधेरै जिम्मेवारी थपिएको छ जस्तो लाग्छ । सबैलाई पकाउने, खुवाउने काम सकेपछि आफूले खाने अनि घर सरसफाइ गरेर सकेपछि फुर्सद पाउने हो । जोशीपुर गाउँपालिका–४ की रुपाली धामीलाई दशैँँको टीकाको दिन नजिकिँदै जाँदा घर सफा गर्ने कामबाट धपडी सुरु हुन्छ ।

घरमा आएका पाहुनाको स्वागत, सत्कारसँगै दशैँँको टीकाको दिन आउने पाहुनाका लागि केही परिकार तयार पार्ने काम मेरै हुन्छ। यी सबै काम सकेर टीका थाप्न माइत जाने हो । यी काममा परिवारका अन्य सदस्यले समेत सघाउने भइदिएको भए चाडपर्वमा समेत रमाइलो हुन्थ्यो ।

दशैँँ तथा अन्य चाडपर्वमा परिवारका सदस्यबीच जमघट हुने गर्दछ । चाडपर्वमा नेपाली समुदायमा आफन्तसँग मिलेर गच्छेअनुसार सक्दो मीठो मसिनो खाने चलन छ । यस्ता जमघटमा रमाइलो गर्ने र आ–आफ्ना चलनअनुसारका खानेकुरा तयार पार्ने जिम्मेवारी अधिकांश घरमा महिलाकै हुने कुरा गलत भएको अधिकारकर्मी निर्मला कडायत बताउनुहुन्छ । “चाडपर्वका समयमा सबै मिलेर काम गर्नुपर्छ ।

सबै मिलेर घर तथा भान्साको काम गरेमा महिलालाई पनि रमाइलो हुन्छ । सबैभन्दा बढी सहयोगी श्रीमान् तथा घरमा भएका पुरुष बन्न आवश्यक छ । महिलालाई भान्साको काममा सघाउनुपर्छ ।” उहाँ चाडपर्व तथा अन्य समयमा घरको काममा परिवारभित्रकै सदस्यले सघाउनुपर्ने बताए ।

महिला एक्लैले घरको काम गर्न सक्दैन । त्यसैले चाडपर्वमा सबै काम बाँडफाँट गर्नुपर्छ । श्रीमान् तथा अन्य सदस्यले बच्चा सरसफाइ गरिदिने, बच्चालाई खाना खुवाउने, किनमेल गर्ने, तरकारीको जोहो गर्नेजस्ता काममा सघाउन सक्छन् ।

[sidebar name="button post"]