काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।
‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’
प्रचण्डले आइतबार आउँदै गरेकाे विजयादशमी तथा शुभ दिपावलीकाे शुभकामना दिँदै संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि प्रतिगमन विरोधी शक्तिलाई मत दिइ विजयी गराउन अनुराेध गरेका हुन् ।
‘दसैँ, तिहार, छठ, नेपाल सम्वत्, ल्होसार लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उनी लेख्छन्,’सांस्कृतिक पर्वहरुको श्रृङ्खलाभित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौँ। आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’












