१६ असोज काठमाडौं । बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै छ ।घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । तर, फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेश गरिएको हुन्छ ।
देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।
गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ । दसैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरू सरिक हुने चलन छ ।










