काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवारी दिने भएका छन् ।
उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए। आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यान्क्वेटमा उम्मेदवारी घोषणा कार्यक्रम रहेको मिश्रले बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाए । ‘संसद् भवन काठमाडौं १ मा पर्छ । एकजना व्यक्ति १५ वर्षदेखि यहाँबाट सांसद बन्नुभएको छ । उहाँलाई सोध्नुस् १५ वर्षमा कति दिन संसद् चल्यो ? कति दिन उपस्थित हुनुभयो । १५ वर्षमा के गर्नुभयो ?’, उनले प्रश्न गरे ।
उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मतका साथ निर्वाचित भएका थिए ।









