बाइस दिनमा एक हजार एक सय किलोमिटर पैदल दूरी पार गर्ने मुन्नालाई सम्मान

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकहिया निवासी ३२ वर्षीय शेस मुन्नालाई बाराका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले दोसल्ला ओढाई सम्मान गर्नुभएको छ ।

उहाँले आज आफ्नो कार्यकक्षमा नै मुन्नालाई सम्मान गर्नुभएको हो । सम्मानपछि प्रहरी उपरीक्षक बोगटीले मुन्नाको साहसी कदमको प्रशंंसा गर्दै उहाँको कार्यले नेपालको स्वाभिमान अझै बढेर गएको बताउनुभयो ।

वीरगञ्जबाट २२ दिनमा एक हजार एक सय किलोमिटर पैदल यात्रा गरी भारतको राजधानी दिल्ली पुगी कीर्तिमान कायम गरी नेपाल र नेपालीको मानसम्मान विश्वमा चिनाउने गरेको आदम्य साहसलाई कदर गर्दै प्रहरी उपरीक्षक बोगटीले मुन्नालाई सम्मान गर्नुभएको हो । सम्भवतः विश्वमा नै पहिलो रेकर्ड मुनाको हुने आकलन पनि गरिएको छ ।

“अमेरिकाले ३७ दिनमा एक हजार एक सय किलोमिटर, अष्ट्रेलियाले ३३ दिनमा एक हजार एक सय किलोमिटर र भारतले २७ दिनमा सात सय ८० किलोमिटर यात्रा तय गरेको रेकर्ड अहिलेसम्मको रहेको हुँदा आफू कम समयमा नै संसारको सबैभन्दा बढी पैदल यात्रा तय गरेको व्यक्ति हुन सक्ने हाम्रो अनुमान रहेको छ, तीन महिनापछि विश्व गिनिजबुकमा नाम लेखाउन सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको छु”, मुन्नाले भन्नुभयो ।

साउन महिनाको २१ गते वीरगञ्जबाट बिहान ७ बजेर ३० मिनेटमा दिल्लीका लागि यात्रा सुरुआत गर्नुभएको थियो । मुन्नालाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख र समाजसेवी प्रकाश थारूले नेपाली झन्डा दिई बिदाई गर्नुभएको थियो ।

मुन्नालाई दिल्लीमा नेपालका लागि राजदूतले स्वागत तथा सम्मान गर्नुभएको थियो भने दिल्लीका राज्यपाल, भारतीय सैनिक प्रमुखले समेत मुनालाई दिल्लीमा भव्य स्वागत गरेको थियो । तेह्रौ दिनको दिल्ली बसाइमा मुनालाई त्यहाँ रहेका विभिन्न सङ्घसंस्था समेतले सम्मान गरेको थियो ।

[sidebar name="button post"]