शिक्षक हत्या अभियोगमा २२ वर्षीया महिला पक्राउ

ओखलढुंगा: शिक्षकको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरी ओखलढुंगा प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया महिला छलमायाँ धमला रहेकी छन् । उक्त शिक्षक गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उनलाई प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका–५ बाट शनिवार पक्राउ गरेको हो ।

शुक्रवार कालिका आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय दिपकुमार ठाकुरको कोठामा हत्या गरेर फरार भएकी छलमायालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानका लागि १२ दिनको म्याद थप गरेको छ ।

मृतक शिक्षकलाई टाउको तथा शरीरको अन्य भागमा कुटपिट गरी सख्त घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । प्रहरीका अनुसार मृतक शिक्षक र धमला केही समयदेखि एकअर्काप्रति चिरपरित थिए ।

[sidebar name="button post"]