स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसी धनगढीमा आमरण अनसनमा बसेका छन्। विभिन्न सात बुँदे माग राखेर डा केसी एक सातादेखि अनसनमा छन्।
डा केसीले अनसन सुरु गरेपछि सरकारले वार्ता समिति बनाएको छ। वार्ता समिति बनाउनुअघि सरकारले डा केसीसँग विगतमा गरेका सम्झौता र हालका मागका विषयमा भइरहेको प्रगतिको विवरण संकलन गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिवको अगुवाईमा प्रगति विवरण संकलन गरिएको हो।
प्रगति विवरणमा डा केसीसँग दुई वर्षअघि सरकारले गरेको सहमति र हाल उठाएका मागका विषयमा भइरहेका कामहरु उल्लेख छ। डा केसीसँग सरकारले २०७७ असोज २४ गते सहमति गरेको थियो। उक्त सहमतिका विषयमा भएका प्रगति र अहिले उठाइएका मागका विषयमा बुँदागत रुपमा विवरण संकलन गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
उक्त सहमतिपछि प्रदेशमा सरकारी मेडिकल कलेजको प्रगति के भइरहेको छ? कुन प्रदेशमा के काम भइरहेको छ भन्ने विवरण सरकारले संकलन गरेको छ।









