आज गणेश चौथी, गणेशकाे पूजाआजा गरी मनाइँदै

आज गणेश चौथी। भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरूले मनाउने गर्छन्। गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन्।

कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ। आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ। हरितालिका तीजको भोलिपल्ट गणेश चौथी मनाउने गरिन्छ।

हिजो व्रत बसेका महिलाहरूले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन्। यसदिन कसैको हानी नोक्शानी पुर्‍याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ।

भोलि (बिहीवार) ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रूपमा समापन हुन्छ।

गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन्। आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ। चन्द्रमालाई आज चोर देवताका रूपमा पूजा गरिन्छ। कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ।

[sidebar name="button post"]