पूँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

२६ माघ, काठमाण्डौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूँजीगत खर्च बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो ।

मन्त्रालयको पूँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पूँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखलाई निर्देशन दिनुभयो । “पूँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ”, उहाँले भन्नुभयो, “एक महिनाको अविधिमा ट्र्याकमा ल्याउनेगरी काम गरौँ, कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।”

साथै उहाँले कर्मचारीले काम गर्न खोजेको भए पनि मूर्तरूपले अघि बढ्न नसक्दा पूँजीगत खर्च कम भएकामा चिन्ता व्यक्त गर्नुभयो । “प्रक्रियामा रहेका कार्यक्रम छिटो अघि बढाउन प¥यो”, मन्त्री पौडेलले भन्नुभयो, “घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस् ।” साथै उहाँले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखलाई निर्देशन पनि दिनुभयो । “मन्त्रालयमा समस्या सिर्जना हुनु भनेको चुनौती हो”, मन्त्री पौडेलले भन्नुभयो, “समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ ।”

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालुतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तीयमा ३८.८९ प्रतिशत, पूँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तीयतर्फ ३ प्रतिशत प्रगति भएको छ । यस्तै सङ्घमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीयतर्फ २.८२ प्रतिशत प्रगति भएको छ ।

[sidebar name="button post"]