टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आजदेखि सुरु हुँदै

८ श्रावण, काठमाण्डौ। आज विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकको औपचारिक उद्घाटन हुँदै छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुन लागेको हो ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह ‘एलेक्स’ ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् ।नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् ।

कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ । ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो ।

यसअघि गएको वर्ष कोरोनाकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ ।

[sidebar name="button post"]