देशभरका १४ सडक खण्ड बन्द, ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन, अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह

बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द छ भने ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन छन् ।

चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डको चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ ।

ठोरी–भरतपुर–मुग्लिङ आँबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन ।

मनाङको डुम्रे बेसीसहर-चामे सडक खण्ड पनि ठाउँ-ठाउँमा बन्द छ ।

यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर-कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ ।

पहिरो हटाउने काम भइरहेको छ । तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ ।

[sidebar name="button post"]