मेलम्ची बाढीले ५० जनाभन्दा बढी बेपत्ता : मन्त्री तामाङ

२ असार, सिन्धुपाल्चोक। मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताउनु भएको छ।

मन्त्री तामाङका अनुसार मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ । यस्तै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको उहाँले जनाउनु भएको छ । बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको पनि उहाँले बताउनु भएको छ।

‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ,’नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न हार्दिक अपिल गर्दछु ।’

[sidebar name="button post"]