१ असार, काठमाण्डौ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा केहि खुकुलो बनाइएको छ ।
कोरोना संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको थियो ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । नयाँ शैक्षिक सत्र सुरु भएकाले स्टेशनरी पनि खोल्न दिने निर्णय गरिएको छ । त्यस्तै पुस्तक पसलहरु बिहान ११ बजेसम्म खुल्नेछन् ।
त्यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ । साथै आजबाट होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।











