विश्वकप फुटबल छनोट : नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा

२० जेष्ठ, काठमाण्डौ। सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ । कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजे शुरु हुनेछ ।

नेपालले अहिलेसम्म ताइपेईसित दुई खेल खेलेको छ । एउटामा नेपाल विजयी भएको थियो भने अर्कोमा दुवै टोलीले बराबरी खेलेका थिए । नेपाल र ताइपेईका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिनुभएको छ । फिफा बरियतामा ताइपेई १४१ औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ ।

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिए पनि एसियन कपको तेस्रो चरण पुग्नका लागि भने ताइपेईसितको खेल महत्वपूर्ण रहेको छ । आजको खेल जितेमा नेपाल आफ्नो समूहको चौथो स्थानमा रहेर एसियन कपको तेस्रो चरणमा प्रवेश गर्नेछ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ ।

समूह ‘बी’मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अहिलेसम्म अङ्क बिहीन छ । समूहको शीर्ष स्थानमा १२ अङ्कका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अङ्कसहित कुवेत तथा १० अङ्कका साथ जोर्डन तेस्रो स्थानमा छ ।

इराकसित मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी रहनुभएको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

[sidebar name="button post"]