काठमाडौँ – इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली मंगलबार राति इराक गएको छ ।
नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनौट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।
यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।
समूह बी मा रहेको नेपालले विश्वकप छनौटअन्तर्गत जेठ २० गते चाइनीज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।
कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गरेको हो ।
नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।











