नेपाल सुपर लिगमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश

२६ वैशाख, काठमाण्डौ। नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाण्डौ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाण्डौ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाण्डौका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गर्नुभयो । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गर्नुभयो । खेलको १७ औंँ मिनेटमा काठमाण्डौका ओलोमोउले गोल गर्नुभएको हो । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाण्डौका लागि दोस्रो गोल गर्नुभयो ।

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गर्नुभएको हो । खेलको ४४ औंँ मिनेटमा काठमाण्डौका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाण्डौका प्रिजेन तामाङ गोल गर्नबाट चुक्नुभयो । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाण्डौले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।

[sidebar name="button post"]