२५ वैशाख, काठमाण्डौ। कोरोना भाइरसको संक्रमण बढेपछि ६२ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृहमन्त्रालयको पछिल्लो सूचना अनुसार आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २,३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ ।
यता दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण देशभर नै बढिरहेकाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयको अनुमान छ । यसै बीच गृह मन्त्रालयले काम नपरि बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।
निषेधाज्ञाको अवधिमा अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।
काठमाण्डौ उपत्यकामा गत बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरिएको छ । २२ गते सम्म जारी गरिएको निषेधाज्ञा थाप एक साताका लागि थप गरी बैशाख २९ गते सम्मका लागि कायम गरिएको छ ।












