Ad #144479

सारा ब्रह्माण्डको अध्ययन गर्ने प्राचिन विज्ञानलाई ज्योतिष विज्ञान भनिन्छ । ज्योतिष शास्त्रको अध्ययनबाट सौरमण्डलमा भएका ग्रहहरुको अवस्थालाई पत्ता लगाउन सकिन्छ । संसारमा हरेक प्रकारका गतिविधिहरु आकाशमा रहेका ग्रहहरुको आधारमा नै हुने गर्दछन् भन्ने ज्योतिष शास्त्रको मान्यताहरु रहेको छ । यसले ग्रहहरुको हालको अवस्था कस्तो रहेको छ भन्नेदेखि लिएर ग्रहहरुको हरेक अवस्थाको प्रभाव कस्तो कस्तो किसिमको रहने गर्दछ भन्ने कुरा पत्ता लगाउँदछ ।

कुन समयमा कुन ग्रहको बल बढी हुन्छ र कुन समयमा कुन ग्रहको बल बढी हुन्छ यस विषयको जानकारी ज्योतिषका ग्रन्थहरुको अध्ययनबाट थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्र कठिनमा असाध्य कठिन र सरलमा अत्यन्त सरल पनि रहेको छ । यस शास्त्रमा सुक्ष्म अध्ययन गर्नको लागि प्रशस्त ठाउँहरु रहेका छन् भने सरल अध्ययनका लागि पनि विभिन्न प्रयोजन अनुसार सरल मुहुर्तहरुको पनि निर्धारण गरिएको छ । यही सरल शुभ समयहरुको लागि बारहरुलाई प्रयोग गर्न सकिन्छ ।

बाररहरुमध्ये छैटौँ बार शुक्रबार हो । शुक्र ग्रहको विशेष रुपमा यस दिन बल रहने मानिन्छ । शुक्रलाई दैत्यहरुको गुरु मानिन्छ । शुक्राचार्यमा भौतिक विकासका अद्भुत ज्ञानहरु रहेकाले यसले भौतिक विकासलाई दिने मानिन्छ । भौतिक सुख सुविधाहरु शुक्रबारसँग सम्बन्ध राख्ने मानिन्छ । शुक्रबार महिलाहरुसँग सहकार्य गरेर गर्नुपर्ने कामकाजहरुमा राम्रो उपलब्धि हाँसिल हुने मानिन्छ ।

विलासिताको लागि उपयुक्त बार भएको हुनाले सुत्ने स्थान, शया आदिहरुको कामकाज पनि यस दिन राम्रो हुने गर्दछ । गर गहना, सुगन्धित सामानहरुको विशेष कामकाज पनि यस दिन गर्दा ग्रहहरुको सपोर्ट हुने गर्दछ । नयाँ कपडाहरु सबै बारमा लगाउन निषेध गरिएको छ तर शुभ बारहरुमा नयाँ कपडाहरु लगाउनु राम्रो हुन्छ । शुक्रबार नयाँ कपडा लगाउनुलाई राम्रो मानिन्छ ।

विभिन्न प्रकारका मनोरञ्जनका कायक्रमहरु पनि अरुदिन भन्दा शुक्रबार नै बढी राम्रो हुने मानिन्छ । त्यसकारण यी दिनहरुमा पार्टी, लामो यात्राहरु विशेष गरेर हुने गर्दछन् । भौतिक सुख सुविधाको प्रतिक शुक्रको बारमा भौतिक सुख शयल र मनोरञ्जन आदि कार्यहरुमा सफलता मिल्ने देखिन्छ ।

ज्योतिषीय ग्रन्थहरुमा बिहिबार, र सोमबार, बुधबार र शुक्र बारलाई शुभ बार मानिएको पाइन्छ । यी मध्ये पनि विहिबार र शुक्रबारलाई विशेष शुभ बार मानिन्छ । त्यसकारण हरेक शुभकार्यहरु सके सम्म राम्रो सँग साइत हरेर नै गर्नु राम्रो हुन्छ । साइत हेर्ने अनुकुल हुन नसकेमा जुन मन लाग्यो त्यही दिन गर्नु भन्दा बिहिबार र शुक्रबार गर्नु राम्रो हुन्छ ।

ज्ञान आर्जन गर्ने काम, निष्काम धार्मिक काम तथा कानुन संवन्धि कामकाजहरु विहिबार राम्रो हुन्छ । भौतिक सुख सुविधाको काम, धन आर्जन गर्ने विद्याको प्रारम्भ, विशेष कामना लिएर गरिने धार्मिक अनुष्ठान तथा मनोरञ्जनका कामकाजहरु शुक्रबार गर्नु राम्रो हुने कुरा ज्योतिष शास्त्रमा वर्णन गरिएको छ ।

जग्गा जमिन को किनबेच, पनि यस दिन गर्न सकिन्छ । पैसाको सर सापट वा लेनदेनको काम पनि शुक्र बार नै राम्रो हुने गर्छ । फेसन र विलासिताको व्यापार व्यवसायमा शुक्रको मुख्य भूमिका रहने हुँदा यस दिन यी कार्यहरुमा राम्रो सफलता मिल्ने मानिन्छ । त्यसैगरि शुक्रले नै भौतिक सुख सुविधा र मनोरञ्जनहरु दिने भएकाले होटल तथा रेष्टुरेन्टहरु पनि शुक्रबार शुभारम्भ गर्नु राम्रो मानिन्छ ।

संसारमा जति पनि प्राचिन बाहेक आधुनिक व्यवसाय हरु छन् ति शुक्र ग्रहसँग नै संवन्धित मानिन्छन् । मानिसको जीवनका अत्यवश्यक कुराहरु भन्दा विलासिता, शानको जिन्दगी शुक्रले दिने गर्दछ । गाडी, मोबाइल, कम्प्युटर आदिमा अन्य ग्रहको पनि सम्बन्ध रहँदा रहँदै शुक्रको भने विशेष संबन्ध रहने भएकाले यी सामाग्रीहरुको कारोबार सामान्यतया शुक्रबार नै गर्नु राम्रो मानिन्छ ।

चिठ्ठा आदि पनि शुक्रबार नै राम्रो हुने कुरा ज्योतिषिय ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

बलराम उपाध्याय खकुरेल
 ज्योतिष तथा बास्तुविद्