सिमा नेपालको अनुभव : सुरुको तलब १५ सय अहिले ……

समिता कार्की

काठमाण्डौमा काम नगरी जीवन निर्वाह गर्न मुश्किल पर्छ । ज्याला मजदूरी, घर कार्यालय जहाँ जे भएपनि काम गर्न सके जीवन सहजै चल्छ । कामलाई सानो ठुलो नभनी गर्ने हो भने बाँच्नका लागि गाह्रो पनि छैन । सहकारी संस्थामा १२ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ, सिमा नेपाल ।

उहाँले काठमाण्डौको चाबहिल, चुच्चेपाटिमा रहेको शिवम् बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिका रुपमा काम गर्नुहुन्छ । नेपालको स्थाई ठेगाना पर्वतको कुस्मा नगरपालिका हो । अहिले काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ भैरवचौरमा बस्नु हुन्छ । उहाँको परिवारमा श्रीमान्, छोरा र छोरी गरि ४ जना हुनुहुन्छ ।

सहकारीमा जागीर

शिवम् बचत तथा ऋण सहकारीको स्थापना २०६५ सालमा भएको हो । यो सहकारी स्थापना भएको भएको केही दिनमा नै नेपालले आवेदन गरी नियुक्ती पाउनुभयो । ‘यो सहकारीमा काम गर्नु भन्दा पहिले धागो कारखानामा काम गर्थे । कारखानाको काम त्यति सहज थिएन । अध्ययन एसएलसीसम्म मात्रै हुनाले अरु अवसर पनि कमै हुने ।

श्रीमान् एक जनाको आम्दानीले मात्रै ४ जनाको परिवार चलाउन निकै गाह्रो पर्ने हुनाले म पनि काम गर्दै आएको छु । त्यसमाथि छोराछोरीको पढाई र कोठा भाडा तिर्न एकदमै गाह्रो हुन्थ्यो । आफ्नो परिवार छोडेर वैदेशिक रोजगारीका लागि इजरायल जाने साेंच पनि बनाएको थिए । तर आफ्नै देशमा रोजगारी पाए हुन्थ्यो भने लाग्थ्यो । त्यसै बेला सहकारीमा जागीर सुरु गरे । यो सहकारीमा सुरुवातदेखि अहिलेसम्म पनि बजार प्रतिनिधिकै रुपमा काम गर्दै आइरहेको छु । श्रीमान्को कमाई, मेरो गरी ४ जनाको परिवार चल्दैछ । धेरै थोरै रकम गाउँमा सासूससुराहरुलाई पनि खर्च पठाउने गर्छौ ।

सुरुको तलब १५ सय अहिले २५ हजार

यो सहकारीमा मैले मासिक १५ सय रुपैयाँदेखि काम सुरुवात गरेको हो । अहिले तलब २५ हजार भन्दा माथी आउँछ । यो काममा परिवारको पनि साथ र सहयोग निकै मिलेको छ । त्यही साथले गर्दा नै १२ बर्षसम्म निरन्तर रुपमा यहीँ काम गर्दैछु । ‘एउटा बजार प्रतिनिधि भएर गर्ने प्रमुख काम भनेको आर्थिक कारोबार नै हो । आर्थिक कारोबार गर्दा कहिलेकाही हिसाब नमिलेर तनाब हुने गर्छ । हाम्रो जिम्मेवारी भनेको सेवाग्राहीको रकम सुरक्षित तरिकाले अफिसमा पुर्याउने हो । आफ्नो काम प्रती लगनशील भएर ध्यान दिएर गर्नुपर्छ । सबैको बिश्वास जितेर हिँड्न पर्छ ।’

मैले नयाँपाटि देखि कुमारीगालसम्म सहकारीको बजार प्रतिनिधि भएर काम गर्नुपर्छ । बिहानदेखि नै आफ्नो घर नजिक नजिक भएका बचतकर्ताहरुको बचत लिने काम गर्छु । त्यसपछि घरको काम खाना बनाउने र खाने काम सकेर काममा जाने गर्छु । आफुले काम गर्ने संस्थाको लागि पूरा समय दिने गरेको छु । त्यही पनि केही कमि कमजोरीहरु भएको खण्डमा सुधार गर्दै अगाडि बढ्ने क्रम जारी नै छ ।

पहिले सुरुवातको अवस्था अहिलेको जस्तो धेरै सहकारी संस्था स्थापना भएका थिएनन् । तर स्थापना हुने क्रम भने जारी नै थियो । त्यस्तै स्थापना भएको सहकारीहरु विभिन्न कारणले गर्दा भाग्ने क्रम पनि जारी थियो । त्यो अवस्था भएकोले सहकारीको काम गर्न गाह्रो पनि थियो । काम गर्दै गर्दा उतारचढावहरु पनि धेरै नै आए । ती सबै उतारचढावमा पनि आफ्नो काम निरन्तर रुपमा गरि रहें । मैले दिन प्रतिदिन सदस्यहरु बढाउँदै गएँ ।

सुरुवातमा तलब पनि कम थियो । तर अहिले पहिलेको तुलनामा काम गरे अनुसार तलब पनि बढ्दै गएको छ । आफुले काम गरे अनुसार राम्रो नै भैरहेको छ । सबैको साथ र सहयोग मिलेको छ । यो कामले जीवन निर्वाह गर्न धेरै सहयोग मिलेको छ । मार्केटमा हिँड्न खुशी र रमाइलो लाग्ने भएकोले मार्केटमा नै छु । यो काम नभएको भए गृहिणीमा नै सिमित हुन्थे होला कि वैदेशिक रोजगारीको शिलशिलामा आफ्नो घर परिवारबाट टाढा जान्नु पर्थ्यो होला । तर यो काम गर्दा जुन सन्तुष्टि र खुशी मिलेको छ ।

सहकारीको शाखा थप

अहिले सहकारीको दुई ओटा शाखा बनेको छ । एउटा जोरपाटी र कपन टेन्जिङ चोकमा स्थापना भएको छ । फेरि सहकारीबाटै शिवम् फार्म भन्ने निजगढमा भवन निर्माण गर्दैछौँ । शिवम् फाउन्डेसन पनि निर्माण गरिएको छ । जसबाट विभिन्न सामाजिक सेवाकार्यहरु गर्ने गरिन्छ । यो सहकारीसंग जोडिएका सदस्यहरु विभिन्न आपत, बिपतमा परेका सदस्य तथा सर्वसाधारणलाई साथ र सहयोग गर्न पाउँदा एकदमै गर्व लाग्छ ।

अनुभव

पैसालाई अहिले बचायौँ भने भोलि पर्सि पैसाले बचाउने गर्छ । जुनसुकै काम गरे पनि आफ्नो कामलाई प्राथमिकतामा राखेर इमानदारीता र लगनशीलताका साथ काम गरेको खण्डमा हामी सफल हुन सक्छौं । त्यो कामले सन्तुष्टि प्रदान गर्न सक्छ भने अनुभव मैले मेरो कामबाट संगालेको छु । मानिसको जीवनमा उतारचढावहरु धेरै आउने गर्छन् । हिम्मत नहारी लगनशील भएर काम गर्नुपर्छ सफल अवश्य हुन्छौं । यो मेरो अनुभव र भोगाइ हो ।

[sidebar name="button post"]