विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्नेमा ‘प्याब्सन’ को जोड

२९ चैत्र, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’को निर्णयप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि जारी गर्दै विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्ने र संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ ।

विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ । ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ ।

[sidebar name="button post"]