आइतबार ज्योतिष शास्त्रअनुसार सूर्यको बार : थाहा पाइराख्नुहोस् आइतबार कुन कार्य गर्नु हुन्छ, कुन कार्य गर्नु हुँदैन ?

हामी आज ज्योतिष शास्त्रका विविध पक्षहरु मध्ये कुन बार कस्ता कामकाजको लागि राम्रो मानिन्छ भन्ने विषयमा चर्चा गछोैँ । ज्योतिष शास्त्रअनुसार हरेक बार फरक फरक कामकाजको लागि छुट्याइएको छ ।

सामान्यतया आइतबार र मंगलबार लाई ज्योतिष शास्त्रमा खरो बारको रुपमा लिइएको छ । शनिबार लाई ढिलो बारको रुपमा लिइएको छ भने शुक्रबार, बिहिबार र सोमबारलाई शुभबारको रुपमा लिइएको छ ।

बुधबारलाई भने ज्योतिष शास्त्रका ग्रन्थहरुमा द्विस्वभावको बार मानिएको हुनाले यसबारलाई कन्फ्युज हुने बार मानिन्छ । जुन जुन ग्रहको आधारमा बारहरु निर्माण भएका हुन् त्यस दिन त्यही ग्रहहरुको स्वभाव अनसारका काम गर्नु राम्रो मानिन्छ ।

त्यसो भए आइतबार कुन कुन कार्य गर्नुपर्दछ त ?

सूर्यको आधारमा आइतबार बनेको हो । आइतबार बारको आधारमा सूर्य बलियो हुने बार मानिन्छ । सूर्यलाई ज्योतिष शास्त्रहरुका अनुसार ग्रहहरुको राजा मानिन्छ । त्यसकारण आइतबार सरकारी कामकाजको लागि राम्रो मानिन्छ ।

पहिला पहिला राजा महाराजाहरुको राज्याभिषेकको लागि सकेसम्म आइतबार नै राम्रो समय मानिन्थ्यो । यस दिन कुनै पनि कार्यालाय को कार्यभार सम्हाल्नु लाई राम्रो मानिन्छ भने विशेष गरेर सरकारी कार्यालय वा कामकाजको जिम्मेवारी आइतबार नै लिनु ज्योतिष शास्त्रको मत हो । विवाह , व्रतबन्ध वा कुनै पनि खुशीयालीका उत्सवहरु मनाउँदा पनि आइतबार नै गर्नु राम्रो हुन्छ ।

ज्योतिष शास्त्र अनुसार सूर्यलाई आत्मासँग संबन्ध राख्ने ग्रह मानिने भएकाले यस दिनमा गरेको कामकाजमा आत्म विश्वास बलियो हुन्छ भन्ने मान्यता ज्योतिष शास्त्रको रहेको छ । त्यसकारण रोजगारीको प्रारम्भ सकेसम्म आइतबार का दिन नै गर्नु राम्रो हुने कुरा ज्योतिष शास्त्रमा बताइएको छ ।

वस्तुभाउको किनबेच वा अन्य कुराको किनबेच पनि आइतबार गर्नु राम्रा नै मानिन्छ । सूर्यको स्वभाव तातो हुने भएकाले आगो, ग्यास, विद्युत संबन्धि कामकाजहरु आइतबार गर्नु शास्त्रसम्मत देखिन्छ ।

मन्त्र साधकहरुका लागि आइतबार गोप्य मन्त्रहरुको साधनाको लागि निकै शुभ हुने गर्दछ । शास्त्रहरुका आधारमामा औषधी निर्माण गर्ने कामलाई पनि आइतबार नै राम्रो भनेर बताइएको छ । आइतबार देखि विरामी व्यक्तिले औषधी सेवन गर्न सुरु गरेमा त्यसले छिट्टै रोगबाट छुटकारा दिने मानिन्छ ।

सुर्यको प्रभावले आत्मविश्वास बलियो भई समस्या र रोगहरुबाट छुटकारा दिने मानिन्छ । आइतबार लाई खरो बार मानिने भएकाले हतियार संबन्धी कामकाज यस दिन निकै शुभ मानिएको देखिन्छ ।

सुन, तामा र धातुका कामहरुको प्रारम्भ पनि आइतबार गर्नाले चाँडो सफलता हासिल हुने कुरा पनि वर्णन गरिएको पाइन्छ । ऊन र काठ को कामलाई पनि यस दिन निकै राम्रो हुने मानिन्छ भने फर्निचर संबन्धि काम पनि आइतबारलाई शुभ मानिन्छ । त्यसकारण काठ मिल, फर्निचरको कारोबार, बन तथा जंगलको काम आइतबार शुरु गर्नु राम्रो हुने गर्दछ ।

शत्रुसँग आक्रमण गर्नको लागि सबैभन्दा पहिलो कुरा आत्म विश्वास पूर्ण हुनुपर्ने भएको हुनाले आइतबार वा मंगलबार युद्ध अभ्यास वा युद्धको प्रारम्भ गर्नु शास्त्र अनुसार उत्तम बार मानिएकाृ छ । साथै व्यापार व्यवसायको थालनी पनि आइतबार गरेमा शुभ हुने खगोल शास्त्रको मान्यता रहेको छ ।

ज्योतिष शास्त्रमा यस्ता अनेकौँ कुराहरुको वर्णन गरिएको पाइन्छ । हरेक कामकाजको लागि हरेक समयमा साइत हेरी रहन संभव पनि छैन । त्यसकारण बार को स्वभाव अनुसार कामकाज गर्नु शास्त्रिय मत अनुसार राम्रो हुने गर्दछ ।

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

 

[sidebar name="button post"]