समिता श्रेठ
काठमाण्डौको शिवपुरी चोकमा छ, बौद्ध इन्टरनेशनल स्कुल । यो स्कुलबाट धेरैले आफ्नो शैक्षिक गन्तब्य पुरे गरे । कतिपय अध्ययनमै छन् । अध्ययनमा सक्रिय विद्यार्थीलाई बोक्न स्कुलको बस चलाउनु हुन्छ रिता राई । राई आफैले भने कक्षा ७ सम्म मात्रै अध्ययन गर्नुभयो ।
रिता राईको जन्म २०३६ सालमा रामेछापको तत्कालिन दुरागाउँ गाउँ विकास समिति नम्बर ५ मा भएको हो । पारिवारिक वातावरण गाउँमा खेतीपातीको काम गर्दै, बस्तुभाउ चराउँदै बाल्यकाल बित्यो । उहाँ भन्नुहुन्छ,‘गाउँघरमा खेतबारी, घाँसदाउरा र बस्तुभाउ हेर्दैमा बाल्यकाल बित्यो, धेरै पढ्ने मन हुँदाहुँदै पनि पढ्न पाईन । त्यो बेलाको सोंच नै छोरी मान्छेलाई धेरै पढाउनु हुँदैन भन्ने थियो । आफूले पढ्न नपाएकोमा पछुतो छ । तर छोरीहरुले जति पढ्छन् पढाउँने सोंच छ ।’
अहिले उहाँ काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्नुहुन्छ । परिवारमा उहाँ र दुई छोरी छन् । राईकी जेठीछोरी स्नातक तह तथा कान्छी छोरी ७ कक्षामा पढ्दैछन् । राईले आत्तरखेल शिवपुरी चोकमा रहेको बौद्ध इन्टरनेशनल स्कुलमा बस चालकको रुपमा काम गर्नुहुन्छ । २०६१ सालदेखि चालक पेशा थालेको र यो स्कुल बस बिगत ४ वर्षदेखि चलाउन थालेको उहाँ बताउनुहुन्छ । स्कुल बस चलाउनु अगाडि उहाँ गोकर्णेश्वरमा जम्बो हाईस चलाउनुहुन्थ्यो ।
राई रामेछापबाट काठमाण्डौ बिहेपछि मात्रै आउनुभएको हो । उहाँले काठमाण्डौमा धेरै काम खोज्नुभयो । उहाँको अन्टीको काठमाडांैमा चिया पसल थियो । केही समय पसलमा सघाउने काम पनि गर्नुभयो । पछि आफ्नै चिया पसल सञ्चालन गर्नुभयो । त्यो समयमा उहाँका श्रीमान्ले गाडी चलाउने काम गर्नुहुन्थ्यो ।
उहाँले आफुसँग गाडिको काममा संलग्न गराउनु भयो । सुरुमा बानेश्वरको माक्रोमा सह चालकको रुपमा यो क्षेत्रमा प्रवेश गरेको राई बताउनुहुन्छ । यो २०६१ सालतिर को कुरा हो । सह चालकको रुपमा काम गर्न थालेको ४|५ महिनामा नै गाडी चलाउन सिकेपछि त्यहीँबाट चालकको यात्रा सुरु भएको उहाँ सुनाउनुहुन्छ ।
सुरुमा उहाँले ट्याक्सी चलाउनुभयो । त्यसपछि सानो माइक्रो चलाउनुभयो । त्यसपछि जम्बो हाईस र अहिले स्कुल बस चलाउँदै हुनुहुन्छ । ‘यो चालकको पेशामा आवद्ध भएर परिवार चलाउन ठिक ठिकै छ । काम गरे अनुसारको आम्दानी हुन्छ । तर धेरै रिक्स लिनु पर्छ । यहीँ पेशामा आवद्ध भएर मेरो ३ जनाको परिवार चलिरहेको छ । कोठाभाडादेखि घरखर्च, छोरीहरुको शिक्षा, स्वास्थ्य लगायत अरु लत्ताकपडा आदि खर्च जुटेको छ । आम्दानीबाट घरखर्च कहिले पुग्छ, कहिले पुग्दैन ।’
पहिला ट्क्यासी तथा हाइस चलाउँदा आम्दानीको कुनै टुङ्गो हुँदैनथ्यो, तर अहिले मासिक तलब आउने गरेको उहाँ बताउनुहुन्छ । ‘यो पेशा छिनभरमै रमाइलो अनि छिनमै तनाब हुन्छ । अनावश्यक रुपमा अपमान र गलत व्यबहार खेप्नुपर्छ । यो पेशालाई अँगालेर काठमाडौंका सबै ठाँउ तथा काठमाण्डौ उपत्यका बाहिर पोखरा, चितवन लगायतका ठाउँ पुगिसकेको छु ।’
एउटा चालक भएर काम गर्दा आफ्ना यात्रीहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउनु मुख्य जिम्मेवारी हुन्छ । स्कुल जस्तो प्रतिष्ठित संस्थामा काम गर्दा असल व्यबहार तथा आचरण गर्नुपर्ने हुँदा अझ धेरै जिम्मेवारीबोध हुनुपर्छ । ‘अहिले मैले केही सानो गल्ती गरे स्कुल माथी असर पर्न जान्छ । त्यसैले मेरो जिम्मेवारी झन् बढेको छ । उहाँ भन्नुहुन्छ,‘ आफ्नो जिम्मेवारी पूर्ण रुपले निभाउने प्रयास गर्छु । विद्यार्थीहरुलाई समयमा घरघरमा लिन र पुर्याउन जाने गर्छु ।’
गाडी घोडाको भरै हुँदैन । कहिले टायर पन्चड हुने, कहिले के बिग्रने समस्या धेरै हुन्छन् । राई भन्नुहुन्छ,‘यो काम रहर नभए घर परिवार चलाउनको लागि बाध्यताले अपनाएको पेशा हो । धेरै कामहरू खोज्दै जाँदा काम पाउन मुस्किल थियो । जे होस् यहि कामले जिविकोपार्जन गर्न पुगेको छ । सहज छ ।’
राई भन्नुहुन्छ अबका खास सपना छैनन् । केवल छोरिहरुको उच्च शिक्षा र भबिष्य निमार्ण गर्न सकु भने मात्रै छ । जीवन भनेको नै संघर्ष रहेछ । मैले पनि जिवनमा धेरै संघर्ष गरे, अनि गर्दैछु । यहीँ पेशामा आवद्ध हुँदा यातायात संस्था र ब्यक्तिहरुले सम्मान र प्रशंसा पत्रहरु पनि दिनुभएको छ । यो सबै प्राप्त गर्नको लागि त्यति सहज पक्कै पनि थिएन ।
अब आजको दिनसम्म आईपुग्नलाई कति संघर्ष गरे भनि साध्य पनि छैन । धेरै नै संघर्ष गरेको छु । साना साना सन्तानहरुलाई बोकेर कामको खोजी गर्दा काम पाउन धेरै गाह्रो थियो । त्यो बेला चालक पेशामा आवद्ध हुने महिलाको तुलनामा सह चालकको रुपमा काम गर्ने महिलाहरु कम थियो ।
मैले सह चालककै रुपमा यो पेशामा आवद्ध भएको समयमा पुरुष यात्री भन्दा बढी महिला यात्रीहरुले नै अपाच्य शब्दहरु बोल्नुहुन्थ्यो । तर जे भए पनि आफ्नो कामदेखि अहिले म सन्तुष्ट नै छु । जीवन यात्रा र भोगाइलाई हेर्दा जीवन संघर्ष जस्तो लाग्छ । हरेक क्षेत्रमा अगाडि बढ्न संघर्षको आवश्यक पर्छ ।











