युवा नेतृत्व : आफैंले अध्ययन गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर काम गर्दै ३६ वर्षका लामा

समिता श्रेष्ठ

काठमाण्डौको उत्तरपूर्वी भेगमा पर्ने गाउँमध्ये नाङ्लेभारे चाँपाबोट पनि एक हो । नाङ्लेभारेलाई काठमाण्डौको कर्णाली समेत भन्ने गरेको पाइन्छ । देशकै राजधानी भएपनि काठमाण्डौको उत्तरपूर्वी क्षेत्र शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणका दृष्टिकोणले पछाडि छ । तैपनी यहाँको शिक्षा क्षेत्रलाई विकास गर्न केहि अगुवाहरु लागि परेका छन् ।

त्यसैमध्येका एक हुनुहुन्छ, पूर्णमान लामा । श्री चाँपाबोट माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा अध्यक्षका रुपमा काम गर्दै आएका लामा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागि पर्नुभएको छ । बिगत ६-७ वर्षदेखि पूर्णमान लामाले विद्यालय कार्यसमितिको अध्यक्ष पदमा रहेर काम गर्दै हुनुहुन्छ । लामा बहु आयामिक भूमिका निर्वाह गर्दै आउनु भएको छ। उहाँले यसै विद्यालयमा कक्षा १ देखि एसएलसीसम्म अध्ययन गर्नुभएको थियो ।

लामाको विगत र वर्तमान

पूर्णमान लामाको जन्म २०४२ साल बैशाख २२ गते शंङ्खरापुर नगरपालिका वडा नम्बर १ नाङ्लेभारे चाँपाबोटमा भएको हो । उहाँले आफ्नो बाल्यकाल सामान्य रुपमै बिताउनुभयो । बुबा आमालाई खेतीपातीमा सघाउँदै उहाँको बाल्यकाल बित्यो । पढाईमा रुची राख्ने उहाँ शिक्षक हुनुहुन्छ । एसएलसीपछि पशुपति कलेज चावहिलबाट शिक्षा विषयमा प्लस टु सम्म अध्ययन गर्नुभयो । त्यसबेलामा अहिलेजस्तो सहज थिएन । उहाँले यातायातको असुविधा र कलेज टाढा हुँदा थप अध्ययन गर्न सक्नु भएन ।

२०५८ सालमा एसएलसी सकेपछि गाउँकै निजी विद्यालयमा दुई वर्ष शिक्षण गर्नुभयो । द्वन्द्वकालको मारमा परेपछि निजी विद्यालय संचालनमा प्रतिबन्ध लाग्यो । उहाँले पढाउँदै गरेको विद्यालय पनि बन्द भयो । त्यसपछि प्लस टु पढ्ने क्रममा २०६४-६५ सालतिर आफू पढेको स्कुल चाँपाबोटबाट पढाउनको लागि प्रस्ताव आयो ।

उहाँले सुरुमा ७-८ महिना भोलुन्टरको रुपमा पढाउनुभयो । त्यसपछि निजी स्रोतमा नियुक्ति गरिएको लामा बताउनुहुन्छ । ‘मैले त्यसपछि विद्यालयमा केही वर्ष पढाएँ । अनि आफ्नो पढाईलाई निरन्तरता दिने हिसाबले र निजी स्रोतबाट भएकोले राजिनामा दिएर काठमाण्डौ शहर छिरे । उहाँले प्लस टु सम्मको अध्ययन गर्नु भएको छ ।’

व्यवसाय अनि विद्यालयको व्यवस्थापनमा आवद्ध

पढाईमा रुची हुँदाहुँदै पनि लामाले अध्ययन अगाडि बढाउन सक्नुभएन । अनि स्थायी रुपमा शिक्षककै जागिर पनि खान सक्नुभएन । उहाँ व्यवसायतिर लाग्नुभयो । अहिले पनि काठमाण्डौदेखि मेलम्ची, सिन्धुपाल्चोक जाने हेलम्बु यातायात समितिमा सदस्यको रुपमा आबद्ध हुनुहुन्छ । यातायातको क्षेत्रमा काम गर्दागर्दै त्यसपछि फेरि विद्यालयमा विभिन्न समस्याहरु देखिन थाले ।

उहाँ भन्नुहुन्छ,‘२०६८-२०६९ तिर विद्यालय व्यवस्थापन समितीमा रहेर काम गर्नको लागि प्रस्ताव आउन थाल्यो । आफू पढेको र केही समय पढाएको विद्यालय पनि भएको कारण सामाजिक र राजनैतिक जिम्मेवारीको रुपमा मैले नेतृत्व तहमा रहेर काम गर्नुपर्छ भन्ने लाग्यो र मैले २०७१-२०७२ सालबाट समितीको अध्यक्ष पदमा रहेर निरन्तर रुपमा काम गर्न थालें । यो मेरो तेस्रो कार्यकाल हो ।’

श्री चाँपाबोट माध्यमिक विद्यालयको भौतिक पुर्वाधारहरुमा खासै समस्या थिएन । तर खानेपानी, नियमितता, शैक्षिक गुणस्तरीयता जस्ता कुराहरुमा समस्याहरु थिए । ‘सामुदायिक विद्यालय भएको कारणले पनि अभिभावकहरुबाट त्यति धेरै चाँसो दिएको देखिदैनथ्यो ।’

उहाँ भन्नुहुन्छ,‘मैले अध्यक्षता ग्रहण गरेर जिम्मेवारी निर्वाह गर्ने तहमा बसेर काम गर्न थालेपछि निरन्तर रुपमा समस्याहरुको समाधानको प्रयासमा जुटिरहेको छु । यसको लागि विद्यालयका शिक्षकहरुसँग समन्वय, शैक्षिक गुणस्तर वृद्धिको लागि के गर्न सकिन्छ भनेर आवश्यक छलफल, विद्यार्थी र अभिभावकसँग पनि बेला बेला परामर्शहरु गर्न थाले । म आएपछी विद्यालयमा शिक्षक दरबन्दीको आवश्यकता थियो । अहिले विद्यालयमा पूर्ण दरबन्दी छ । त्यस्तै पुस्तकालय, कम्प्युटर, केहि थप भौतिक निर्माणका काम भएका छन् ।’

विद्यायको अवस्था र आगामी योजना

नेपालमा झण्डै २९ हजार चानचुन सामुदायिक विद्यालय छन् । त्यसमध्येको एक सामुदायिक चाँपाबोट विद्यालय पनि हो । सामुदायिक विद्यालयप्रति विश्वास घट्दो छ । समस्याहरु धेरै नै छन् । तर ती समस्याहरुलाई निर्मुल गर्नेतर्फ अध्यक्षको रुपमा सक्दो भुमिका निर्वाह गरेको उहाँ बताउनुहुन्छ ।

२०७२ सालको भूकम्पले विद्यालयको भवन चर्केको छ । ‘त्यसको मर्मतका लागि पहल गर्ने काम भैरहेको छ ।’ विद्यालयका अध्यक्ष लामा भन्नुहुन्छ,‘यहि माघ महिना भित्रमा प्रक्रिया अगाडि बढ्छ र विद्यालयलाई नयाँ रुपमा पाउन सकिन्छ भने आशा गरेको छु । अहिले विद्यालयको शैक्षिक वातावरण सरल ढंगले अगाडी बढिरहेको छ ।’

श्री चाँपाबोट माध्यमिक विद्यालयमा अहिले कक्षा १ देखि १२ कक्षासम्म संचालन भैरहेको छ । यसभन्दा माथि अध्ययन गर्न विद्यार्थीहरु काठमाण्डौ शहरसम्म झर्न बाध्य छन् । यो बाध्यता हटाउन चाँपाबोटमै प्राबिधिक शिक्षालय जस्तै कृषि, पशु पालनसंग सम्बन्धि अध्ययन गराउने बनाउन सकियो भने अझ राम्रो हुने र यहाँको जनजीवनले अझै धेरै दुख भोग्न नपर्ने थियो भने लागेको छ, उहाँ भन्नुहुन्छ,‘ यसको लागि हामी प्रक्रियामा छौँ । यसले गर्दा सक्षम र आत्मनिर्भर हुन मद्दत गर्न सकिन्छ जस्तो लाग्छ ।’

युवा नेतृत्व

पूर्णमान लामा उमेरले ३६ वर्ष पुग्नुभयो । आफैले अध्ययन गरेको विद्यालयमा निरन्तर व्यवस्थापन समितीमा रहेर काम गर्दै हुनुहुन्छ । ‘यो विद्यालयमा मैले नेतृत्व गर्नुपर्छ भने युवा पुस्ताको चाहना भएकोले मेरो प्रेरणाको स्रोत सम्पुर्ण युवा पुस्ता र मेरो साथीहरू तथा विद्यालयका शिक्षक, अभिभावक हुनुहुन्छ ।’

उहाँ भन्नुहुन्छ,‘ सबैको साथ र प्रेरणाको कारणले नै आज मैले यो क्षेत्रमा नेतृत्वदायी भुमिका निभाउँदैछु । सामुदायिक विद्यालयमा मुख्य समस्या नै समय पालनको हो । यसलाई नियमित गर्ने र शिक्षामा गुणस्तरीयताको सबालमा कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता छ ।’

‘विद्यालयमा समितिको अध्यक्ष भएपछि त्यहाँ जिम्मेवारी धेरै हुन्छ । विद्यालय कस्तो स्थान र समुदायमा छ भन्ने कुराको जानकारी आवश्यक छ । अनि विद्यार्थी र शिक्षकहरुको सम्बन्ध र व्यवहारमा पनि ध्यान दिनुपर्छ ।’ लामा भन्नुहुन्छ,‘मैले आफ्नो विद्यालयमा नेतृत्वको हिसाबले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै शैक्षिक वातावरण कायम गरेको छु जस्तो लाग्छ ।’

पेशाका रुपमा यातायात क्षेत्र, कृषि र पशुपालन

लामा भन्नुहुन्छ,‘विद्यालयको व्यवस्थापन विशुद्ध शैक्षिक सेवा हो । आफ्नो जीवन निर्वाहको लागि पशुपालन र यातायातमा लागिरहेको छु । अहिले मैले फर्म दर्ता गरेर बाख्रा पालन गरिरहेको छु । अझै यसलाई कृषि र पशुपालनमा बिस्तार गर्दै लैजाने उद्देश्य छ । काठमाण्डौ जिल्ला भित्रै भएपनि अझै पनि यो क्षेत्रमा बाटो घाटाको अवस्था कमजोर छ । आफ्नै मौलिक किसिमको जनजीवन छ । अझै पनि शहरको हावापानीले छुन सकेको छैन ।

कृषि, परम्परागत व्यवसायमा मात्रै जनजीवन केन्द्रित छ । यसमा आधुनिकरणको जरुरत छ । यसको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देख्छु ।’ उहाँ अगाडि भन्नुहुन्छ,‘यसको लागि चेतनाको हिसाबले पनि माथि उठ्नुपर्छ । हामीले मात्रै नेतृत्व गरेर हुँदैन । यसको लागि हामी भन्दा पछाडीका पुस्ताले पनि गर्नु पर्छ । अनि अघिल्लो पुस्ता जसले अक्षर चिनेको छैन, उहाँहरुलाई पनि साक्षरता अभियानमा जोड्न सक्यौं भने राष्ट्र निर्माणमा एउटा ईट्टा थप्न सकिन्छ ।’

[sidebar name="button post"]