Ad #144479

के तपाइँको निदाउनेबित्तिकै घुर्ने बानी छ ? वा तपाइँको पार्टनरको यस्तो बानीले हैरान हुनुहुन्छ ? त्यसो हो भने लोकपथले केही उपयोगी सामाग्री तयार पारेको छ । चिकित्सकका अनुसार सामान्यतया घुर्ने समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। सय जना व्यक्तिमध्ये १५ देखि २० जना मानिसमा यो समस्या देखिन्छ। सुतेको बेला धेरैजसो मानिसहरु घुर्ने गर्छन्। केही मानिस त सवारीमा यात्रा गर्दा आँखा झिमिक्क भयो कि मस्त घुर्न थाल्छन् ।

हामीमध्ये धेरैलाई लाग्छ सुतेको बेला घुर्नु सामान्य प्रक्रिया हो। तर चिकित्सक भन्छन् यो समस्याले दीर्घकालीन समस्या ल्याउन सक्छ । अझ सुतेको समयमा घुर्ने र श्वास फेर्न अड्किन्छ भने ठूलो समस्या हो। अनुहारमा हड्डी, माथिल्लो र तल्लो च्यापुहरु सानो भएमा पनि घुर्ने समस्या हुन सक्छ। सामान्यतया यो समस्या महिलाभन्दा पुरुषमा बढी देखिन्छ। विशेषत ५० वर्ष नाघेका मानिसहरुमा यो समस्या आम रुपमा देखा पर्न थाल्छ। चिकित्सकका अनुसार मोटा मानिसहरुमा यो समस्या तुलनात्मक रुपमा बढी देखिन्छ।

घुर्ने समस्याबाट छुट्कारा पाउन अपानाउनुहोस् यी उपाय :

– यदि तपाइँको तौल बढी छ भने नियमित व्यायाम गरेर तौल घटाउनुहोस्।

– दोस्रो कुरा त यो समस्या औषधि खाएर निको हुने किसिमको समस्या होइन । बरु धुम्रपान मद्यपान गर्नुहुन्छ भने त्याग्नुहोस्।

– घुर्ने समस्याले रोगको रुप लिइसकेको श्वास नै रोकिने, राति आत्तिएर ब्यूझिने जस्तो अवस्थामा इण्डोस्कोपी गरेर हेर्नुपर्छ।

– सुत्दा कोल्टे फर्केर सुत्ने बानी गर्नुहोस्।

– चिसोबाट बच्नुहोस् ।

– स्वस्थ जीवनशैली अपनाउनुहोस् । खानपानमा विशेष ध्यान दिनुहोस्।

– बाहिरी जंक तथा फास्ट फूड खाने बानी आजैबाट छोड्नुहोस्।

– नियमित स्वास्थ्य परीक्षण गराउनुहोस् ।

– आहार विहार र विचारमा ध्यान दिनुभयो भने रोगले सकभर छुँदैन ।