के तपाईं हातको सौन्दर्यताका लागि नङ पाल्दै हुनुहुन्छ ? जान्नुहोस् यसका असर र हेरचाहबारे

हामी सोच्छौं, यसले हातको सौन्दर्य बढाउँछ । नङको आकर्षण हातको सौन्दर्यसँग जोडिएको छ । तर, यो सानो अङ्ग स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । त्यसैले नङलाई केवल सौन्दर्यका लागि मात्र होइन स्वास्थ्यका लागि पनि हेरविचार गर्नुपर्छ । नङको खास ख्याल राख्नुपर्छ । यसको सिधा असर हाम्रो स्वास्थ्यमा पर्छ ।

लामो नङ :

कतिपयको लामो नङ पाल्ने सौख हुन्छ । तर, यो ठीक होइन । नङ छोटो नै हुनुपर्छ । यसकारण कि लामो नङमा फोहोर जम्मा हुने र ब्याक्टेरिया जम्ने खतरा हुन्छ । तर, नङ काट्दा ध्यान पुर्‍याउनुपर्छ कि यसको मूल आकार नष्ट नहोस् ।

टुक्रिन नदिने :

मौसम परिवर्तन हुँदा नङ चाँडै टुटफुट हुन्छ । चिसो हावामा आर्दताले गर्दा नङ सुक्न थाल्छ र यही कारण नङ कडा हुन्छ । त्यसैले यो टुक्रिन पनि सक्छ । त्यसैले चिसो मौसममा नङलाई टुक्रिनबाट जोगाउनुपर्छ ।

नेलपेन्टको प्रयोग :

लामो समयसम्म नङमा नेलपेन्ट लगाउँदा पनि नङ टुट्ने सम्भावना हुन्छ । यदि एक हप्ताभन्दा बढि समयसम्म नङमा नेलपेन्ट लगाएर राख्नुभयो भने नङको रुप बिग्रिन्छ र कमजोर पनि हुन्छ । त्यसैले नङमा लगाएको पोलिस एक हप्ताभित्रै मेटाउनुपर्छ ।

पञ्जा लगाउने :

नङमा जम्मा भएको फोहोरका कारण पनि नङ कमजोर भएर टुक्रिन्छ । जाडोमा पञ्जा लगाएर आफ्नो नङलाई बचाउन सकिन्छ । भाँडा माझ्दा वा सरसफाई गर्दा नङमा फोहोर धेरै बस्छ । त्यसैले यस्ता काम गर्दा अवश्य पञ्जा लगाउनुपर्छ ।

मोइस्चराइजर लगाउने :

मोइस्चराइजर क्रिमको प्रयोग त्वचामा मात्र नभएर नङमा पनि गर्न सकिन्छ । जतिपटक हात सफा गरिन्छ, त्यतिपटक मोइस्चराइजर लगाउन नभुलौ । नङ र यसका कुनाहरुमा कोल्ड क्रिमले मसाज गर्नुहोस् र केही समय त्यतिकै रहन दिनुहोस् । त्यसपछि चिसो कपासले आफ्नो हात सफा गर्नुपर्छ ।

[sidebar name="button post"]