पहिरनको कुरा गर्दा हामी बाहिरी वस्त्र सम्झन्छौं, जसले जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । हाम्रो अङ्ग र लाज ढाक्छ । हामीलाई स्टाइलिस देखाउनुका साथ साथै फेसनेबल पनि देखाउँछ । हाम्रो व्यक्तित्व बढाउन पनि पहिरनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।त्यही कारण हामी बाहिरी वस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री वस्त्र नि ?
हामी जो कोहि पनि भित्री वस्त्रको कुरा गर्नलाई जहिले पछि हट्छौ। किनभने भित्री वस्त्र खरिद गर्दा कसैले पनि त्यसको बारेमा खासै ख्याल राख्ने गरेको पाइदैन । किनभने तपाईं-हामीलाई लाग्छ, भित्री वस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ ।
तर, यस्तो भन्नु सही होइन । भित्री वस्त्र छालामैत्री वा सहज हुनुपर्छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । यसो सोच्दा हामीलाई यस्ता कुराहरु सामान्य लाग्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री वस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।
कस्तो कपडा राम्रो ?
कपाडा धेरै किसिमको हुनेगर्दछ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री वस्त्रका लागि सुती नै सही हुन्छ। सुतीको भित्री वस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै भयो भने हामीलाई खासै समस्या देखिदैन ।
कुन साइजको लिने ?
भित्री वस्त्र कुन साइजको लिने ? त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री वस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।
कस्तो रंगको उपयुक्त हुन्छ ?
कस्तो रंगको भित्री वस्त्र ? यो प्रश्न तपाईलाई बकम्फुसे लाग्न सक्छ । तर, सेतो पेन्टी लगाउनु सबैभन्दा उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । रंगबिरंगी पेन्टीहरु आकर्षक देखिए ता पनि सफा एवंम सेतो रंगको भित्री वस्त्र लगाउनु नै राम्रो हुन्छ ।
कहिले बदल्ने ?
पेन्टी कहिले बदल्नुपर्छ ? अक्सर यसबारे हामी धेरै चासो गर्दैनौ। अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्ने गर्दछौ । तर, पेन्टी नि ? पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अङ्गमा समस्या देखिने गर्दछ।
राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?
राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ? संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको प्रजनन भागलाई पनि राहत मिल्ने गर्दछ ।











