‘किन यसरी बिना अर्थले माया मार्यौ’ : गायक तथा संगीतकार प्रमोद निर्वाणको सदावहार यात्रा

समिता श्रेष्ठ

‘किन यसरी बिना अर्थले माया मार्यौ’, ‘कस्तो मोडमा’ लगायत उत्कृष्ट गितका गायक एवं संगीतकार प्रमोद निर्वाण सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल हुनुहुन्छ । बितेका साढे दुई दशक उहाँको गित संगीतमा योगदान छ । जुन अहिले पनि निरन्तर छ ।उहाँको ‘भिजुअल एण्ड म्यूजिक लिंक’ नामको आफ्नै म्यूजिक इन्ष्टिच्यूट पनि छ ।

आफ्नै इन्ष्टिच्यूटबाट संगीत प्रशिक्षण र उत्पादनको काम गर्नुहुन्छ । निर्वाणले संगीत क्षेत्रमा साढे दुई दशक बिताई सक्नुभयो । उहाँले आफ्नै ‘निर्वाण एण्ड म्यूजिक लिंक’ ब्यान्डबाट विभिन्न लाइभ प्रर्फमेन्स पनि गर्नुहुन्छ ।

पारिवारिक वातावरण र साधना यात्रा

प्रमोद निर्वाण २०४१ साल बैशाख १ गते जन्मनुभएको हो । उहाँको परिवारमा बुबा, चार जना दाजुभाइ र तीन दिदीबहिनी हुनुहुन्छ । साथै उहाँका श्रीमती र छोरा सहित ३ जना हुनुहुन्छ । आफ्नो बाल्यकाल सामान्य रुपमा बितेको निर्वाण बताउनुहुन्छ । बाल्यकालदेखिको रुचीको क्षेत्र संगीत थियो । त्यसैकारण संगीतमा रमाउँदै उहाँले आफ्नो सैद्धान्तिक अध्ययन ११ कक्षासम्म गर्नुभयो ।

हाल उहाँ संगीत सिकाउने र उत्पादन गर्ने काम गर्नुहुन्छ । त्यस्तै भिडियो निर्माण गर्ने काम पनि गर्नुहुन्छ । उहाँको आफ्नै म्युजिक एजेन्सी छ । उहाँको म्युजिक एजेन्सीको नाम ‘भिजुअल एण्ड म्युजिक लिंक’ हो । उहाँले गायन साथै शब्द, संगीत र संकलनको काम पनि गर्नुहुन्छ । उहाँ आफ्नो संगीत यात्रा बारे भन्नुहुन्छ,‘सानैदेखि मेरो लगाव संगीत क्षेत्रमा थियो ।

यसैकारण सानैदेखि म गित गाउने काम गर्थे । यसरी संगीतमै लाग्न सुरु गरेको २७ वर्ष भयो । ब्यवसायिक रुपमा यो क्षेत्रमा लागेको २०५५ सालदेखि हो । मेरो पहिलो रेकर्डिङ भएको गित ‘कस्तो मोडमा’ हो । यो गितलाई नै श्रोता र दर्शकले एकदमै मन पराउनुभयो । त्यसपछि मेरो दोस्रो गित ‘किन यसरी बिना अर्थले माया मार्यौ’ लाई पनि श्रोता र दर्शकले धेरै नै मन पराउनुभयो ।

मैले मेलोडी पप रक गितहरु आउने गर्छु । यो गितहरु मेरो आफ्नै ‘निर्वाण एण्ड म्यूजिक लिंक ’ ब्यान्डबाट रेकर्डिङ गरेको हो । यो ब्यान्डको स्थापना गरेको २७ वर्ष भैसक्यो । ब्यान्डमा म लगायत मेरा ४ जना अरु साथीहरू पनि हुनुहुन्छ । ब्यान्डमा म भोकलमा छु भने मेरो साथीहरू प्रबिन निर्वाण बास गिटारमा, अनोज चित्रकार गितारमा, जितेन्द्र सुनाम ड्रम सेटमा र बसन्त सुनाम किबोर्डमा हुनुहुन्छ । मैले हालसम्म ४/५ सय वटा गितहरुमा आवाज दिएको छु । जसमध्ये १५/२० वटा गितहरु लोकप्रिय र सदाबहार नै छन् ।’

आफ्ना सिर्जना सबैलाई मन पर्छ । उहाँ पनि त्यसै भन्नुहुन्छ । ‘आजसम्मका मेरा सबै गितहरु मलाई मन पर्छ तर सबैभन्दा मन पर्ने मेरो गितमा ‘तिमी र म’ बोलको गित पर्छ ।’ उहाँ सांगीतिक क्षेत्रमा निरन्तर रुपमा लाग्नुभएको छ । यो क्षेत्रमा अगाडि बढ्नका लागि प्रेरणा दिने ब्यक्ती मामाका छोरा स्वः दाई सुनील बर्देवा हुनुहुन्छ । उहाँ नेपालको वरिष्ठ गायक, संगीतकार र एरेन्जर हुनुहुन्छ ।

संघर्षको यात्रा

हरेक क्षेत्रमा अगाडि बढ्न र लक्ष्य प्राप्तिको लागि संघर्षको आवश्यकता पर्छ । निर्वाणले पनि संघर्षरत यात्रालाई पार गर्दै यो स्थानसम्मको यात्रा तय गर्नुभयो । यो क्षेत्रमा आजको दिनसम्म आउनको लागि कति संघर्ष गरे शब्द नै छैन उहाँ भन्नुहुन्छ । ‘त्यो समय जब म यो क्षेत्रमा आएको थिए । त्यति बेला अहिलेको जस्तो डिजिटल सिस्टम थिएन । त्यो बेला मल्टिमिडिया पनि थिएन । रेडियो र एफएमको जमाना थियो । राम्रो संगीत समायोजन भए पनि आर्थिक अभावले रेकर्डिङ गर्नमा समस्या आउने गथ्र्यो ।

समाज, समुदाय र परिवारको समेत यो संगीत क्षेत्रमा लागेर काम छैन भने धारणा थियो । घरपरिवारबाट गित रेकर्डिङ गर्नको लागि आर्थिक सहयोग केहि हुने अवस्था थिएन । संगीतमा लागेर छोरो बिग्रेको जस्तो सोंच परिवारमा परेको थियो । आफ्नो पकेट मनी अर्थात पैसा र साथीहरूसंग मागेर गित रेकर्डिङ गर्नुपथ्र्यो । धेरै संघर्ष पछि बल्ल आज संगीत सिकाउने र उत्पादन गर्न सक्ने क्षमता बनाएको छु ।’

पहिले र अहिलेको अवस्था

पहिले र अहिलेको सांगीतिक अवस्थालाई हेर्दा धेरै भिन्नता आएको छ । पहिले सांगीतिक यात्रा सुरु गर्दाको अवस्थामा अहिलेको जस्तो सिस्टम र टेक्नोलोजीको बिकास भएको थिएन । एनालग सिस्टम भएकोले अहिलेको तुलनात्मक हिसाबमा धेरै गाह्रो र रमाइलो पनि हुन्थ्यो । आफुले धेरै मेहनत गरेर लाग्नु पथ्र्यो । सुरुवातको अवस्था भन्दा अहिले धेरै बिकास भएको छ ।

डिजिटल सिस्टमबाट सजिलो हुन्छ । धेरै प्रबिधिको बिकास भैरहेको छ । त्यसैले अहिले सिस्टमको बिकास भएसँगै संगीतमा लाग्ने मानिसहरुको मेहनतमा पनि बिकास हुनुपर्छ । अहिलेको संगीत क्षेत्रमा लाग्दै गरेका नयाँ पुस्ताहरुमा अधिकांश संगीतबारे ज्ञान भएर र लगनशील भएर लागेको देखिदैन । राम्रा र साच्चै संगीतलाई माया गरेर यो क्षेत्रमा लागेका ब्यक्तिहरु हातका औंलामा गन्न सक्ने अवस्था छ ।

नयाँ पुस्तालाई सुझाव

यो संगीत क्षेत्रमा लाग्न चाहने नयाँ पुस्ताले सुर र ताल बुझेर आउदा राम्रो हुन्छ । हाम्रो नेपालमा यहाँ हरेक मान्छेलाई हतार भएको देखिन्छ । संगीत क्षेत्रमा आउन र गायक बन्नको लागि हतार गर्नुहुँदैन । किनभने हतारको काम लतार हुन्छ भन्ने हामिले सुन्दै आएका छौ । संगीतबारे राम्रो ज्ञान लिएर आउनु भयो भने राम्रो हुन्छ । संगीत क्षेत्रमा आउन गाह्रो छैन । तर त्यसमा टिकिरहन एकदमै गाह्रो छ ।

अहिले डिजिटल जमानामा कम्प्यूटराईज गरेर स्वर मिलाउने काम पनि हुन्छ । तर त्यसरी माइकमा गाएर, स्वर मिलाएर मात्रै गरेको कुराहरु क्षणिक हुन्छ । राम्रोसंग सिकेर आउँदा,जसले स्टुडियो र रेकर्डिङमा राम्रो गरेको छ । त्यसरी नै लाईभमा पनि आउन सहज हुन्छ । त्यसैले राम्रोसंग संगीत अध्ययन गरेर, सिकेर आउँदा राम्रो र दीर्घकालीन हुन्छ ।

उहाँ भन्नुहुन्छ,‘संगीत मेरो जिवनको अभिन्न अंग हो । मैले मेरो जीवन नै संगीतमा अर्पण गरेको छु । बाल्यकाल देखिको रुची र सपनाको क्षेत्र नै यहीँ हो । मेरो जीवन नै बाल्यकालदेखि हालसम्म संगीतमा चलिरहेको छ । त्यसैले मेरो सबैथोक संगीत नै हो भन्दा पनि हुन्छ ।’

संगीतको ज्ञान र सीप हस्तान्तरण

अबका दिनका योजनाबारे उहाँ भन्नुहुन्छ,‘ अब आफुमा भएको संगीतको ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै राम्रो संगीत प्रेमीहरुको उत्पादन गर्ने लक्ष्य रहेको छ । जसको लागि मैले मेरो आफ्नै इन्ष्टिच्यूटबाट काम पनि गर्दै आएको छु । जुन चावहिल गणेशस्थानमा रहेको छ । बाल्यकालदेखि नै जब संघर्ष सुरु भयो, त्यो समयमा रमन सिंह श्रेष्ठ दाईले धेरै नै सहयोग गर्नु भएको उहाँ सम्झनुहुन्छ । मान्छेमा भएका सपनाहरूको अन्त्य कहिले पनि हुँदैन जस्तो मलाई लाग्छ ।

मेरो बाल्यकालदेखिको एउटा गायक बन्ने सपना पूरा गरेको छु । तर अन्य धेरै सपनाहरू अझै पूरा गर्न बाँकी नै छ । हालसम्म गरेको कामहरुप्रति म पूर्ण रुपले सन्तुष्ट छु । आफुले गरेको काममा दर्शक, श्रोताको माया पाउँदा सफल भएको अनुभव हुन्छ । तर सफल भए भनेर मेहनत गर्न भने छोड्नु हुन जस्तो मलाई लाग्छ । आफुले लगनशील र मेहेनती भएर काम गर्दा सफलता अवश्य प्राप्त नै हुन्छ ।

त्यसैले संगीतबाट सफलता प्राप्त भएको छ र सफलता प्राप्त गर्दै जान अभ्यास र काम गर्दै जाँदै पनि छु । हालसम्मको जीवन भोगाइ र अनुभव अनुसार जीवन भनेको माया बाँढ्नु हो जस्तो लाग्छ । मरेर लानु केही छैन । त्यसैले सबैलाई माया बाँढ्नु, समस्यामा भएकालाई सहयोग र सद्भाव राख्नु नै जीवन हो । जिवन सधैं एकैनास हुँदैन । उतारचढावहरु आउने जाने भै रहन्छ ।

हरेक पल आफुलाई सकारात्मक राखेर हिँड्न सक्नु पर्छ । अन्त्यमा सधैं सकारात्मक रहेर नेपाली गित, संगीतलाई माया गर्नु होला अनि राम्रा स्रष्टालाई, गायकहरुलाई माया दिएर प्रोत्साहन दिनुहोला ।’

[sidebar name="button post"]