४ फागुन, खोटाङ । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै मात्रामा पानी सञ्चालन हुन्छ ।
बिनाप्राविधिक स्थानीय कामदार लगाएर निर्माण गरिएका सिँचाइ कुलोमा १२० मिटर लामो पहाड छेडिएको सुरुङसमेत पर्दछ । स्थानीय लोचाखोला मुहान भएको सिँचाइ कुलोको हौँचुरस्थित प्रिमाकोटगढीमा पर्ने सुरुङ दियालो ‘सल्लाको चोइटा’, तोरीको तेल र मैनबत्ती बालेर निर्माण गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
करिब चार वर्षमा सञ्चालनमा ल्याइएको सिँचाइ कुलो निर्माण सम्पन्न गर्न रु एक लाख २० हजार नगद र ८० मुरी अन्नबाली खर्च भएको तत्कालीन हौँचुर गाउँ पञ्चायतका उपप्रधानपञ्च एवं निर्माण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कार्कीले बताउनुभयो । “हाम्रो गाउँमा सिँचाइ नहुँदा मकै, कोदो, फापरलगायत वर्षे बालीमात्र उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “चन्दा सङ्कलन र श्रमदान गरेर निर्माण गरिएको सिँचाइ कुलो सञ्चालनमा ल्याइएपछि दुई बाली धान, मकै, गहुँ, जौलगायत बाह्रै महिना तरकारी, फलफूलसमेत उत्पादन गरिरहेका छौँ ।”
हौँचुरका स्थानीय बासिन्दा खगेन्द्र कार्की, प्रल्हाद कार्की, डम्बरबहादुर कार्की, बाबुराम कार्की, लोकबहादुर श्रेष्ठ, दलबहादुर कार्की, हीरालाल विश्वकर्मा, कुमार विश्वकर्मा र ताराबहादुर ढकालले चन्दा तथा अन्नबाली सङ्कलन गरेर सिँचाइ कुलो निर्माण गरेको जनाइएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुइभिरका बीर्खबहादुर मगरले जिम्मा लिनुभएको सुरुङ निर्माणमा हौँचुरका बीर्खबहादुर कार्की र तम्बरबहादुर कार्की ९दुवैको मृत्यु भइसकेको० तथा चङ्खु नेपाली र सरुने नेपाली ९जीवितै० कामदार रहनुभएको थियो ।
सुरुङ निर्माणमा खटिएका कामदार भारतको सिलाङ गएर कोइला काटेर फर्किएका व्यक्ति रहेको उपभोक्ता समितिका सदस्य डम्बरबहादुर कार्कीले बताउनुभयो । “कोइला काट्दा सुरुङभित्रै पसेर काट्नुपर्छ”, पूर्व भारतीय सेनासमेत रहनुभएका कार्कीले भन्नुभयो, “सुरुङभित्र काम गर्न सामान्य व्यक्तिमा ज्ञान नहुने भएकाले उनीहरुलाई हाम्रो सिँचाइ कुलोको लागि निर्माण गरिएका सुरुङको पनि जिम्मा दिएका हौँ ।”
मुहानतर्फको कुलो रु ५० हजार र चालीस मुरी अन्नमा निर्माण सम्पन्न गरिएको सिँचाइ योजनामा १२० मिटर सुरुङ रु ३५ हजार नगद र चालीस मुरी अन्नमा सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ । “अध्यारो सुरुङभित्र कामदारका लागि उज्यालो बनाउन दियालो ९सल्लाको चोइटा०, तोरीको तेल र मैनबत्ती प्रयोग गरेका थियौँ”, अध्यक्ष कार्कीले भन्नुभयो, “कुटोकोदालो, झम्पल र गैँती प्रयोग गरेर निर्माण शुरु गरिएको सुरुङ करीब वर्षदिन नपुग्दै सम्पन्न गरेर सञ्चालनमा ल्याइयो ।”
सिँचाइ कुलो निर्माणका लागि कृषि विकास बैंक शाखा कार्यालय खोटाङबाट रु ६० हजार ऋण लिएर काम सम्पन्न गरेपछि फिर्ता गरिएको जनाइएको छ । स्थानीय बासिन्दाको आफ्नै लगानीमा निर्माण गरिएको सिँचाइ कुलो सञ्चालनमा आएको लामो समयपछि चार वर्षअघि सिँचाइ डिभिजन कार्यालय खोटाङको आर्थिक लगानीमा स्तरोन्नति गरिएको उपभोक्ता समितिले जनाएको छ ।
हिउँद÷वर्षा उत्तिकै पानी सञ्चालन हुने सिँचाइ कुलोले हौँचुरवासीको जीवनशैलीमा नै परिवर्तन आएको वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ ‘राजु’ले बताउनुभयो । “पिउनसमेत धारा तथा कुवाको पानी उपभोग गर्न बाध्य हौँचुरबासी सिँचाइ कुलो सञ्चालन भएपछि हर्षित छन्”, उहाँले भन्नुभयो, “पानी अभावमा बसाइँ सरेकाहरु पनि पुनः गाउँ फर्किएर खेतीपाती लगाएर जीवन निर्वाह गरिरहेका छन् ।”









