बस्नेतविरुद्ध सपनाको उजुरी

२ फागुन, काठमाडौं । अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले १०० प्रभावशाली महिलाको सूचिमा पारेकी नेपाली चेली सपना रोक्का मगरले विनयजंग बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।  बस्नेतले आफ्नो मानमर्दन र बेइज्जती गर्ने अभिप्रायले धम्क्याएको भन्दै मगरले काठमाडौं प्रहरी प्रभाग टेकूमा उजुरी दिएकी हुन् ।

बेवारिसे लाश जलाउने काममा मगरसँगै बस्नेतसमेत सहभागी हुने गरेका छन् । उनीहरु बाबुछोरीका रुपमा सँगै रहने गरेको दाबी बस्नेतले यसअघि गर्ने गरेका थिए ।  तर पछिल्लो अवस्थामा भने बस्नेतले आफूसँग सपनाको नग्न तस्बिर रहेको र उक्त तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिने गरेको उनले बताएकी छन् ।

विवादित भएपछि भने दुबै जना अलग अलग रुपमा काम गर्न थालेका छन् । त्यसपछि बस्नेतले आफूलाई अनावश्यक धम्की दिने गरेको र मानसिक रुपमा ब्लाकमेलिङ गर्न थालेको पनि उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

यससन्दर्भमा उपत्यका प्रहरी प्रभागका एएसपी अशोक सिंहले उजुरी परेको र बस्नेतलाई पक्रन अदालतसँग अनुमति समेत प्राप्त भइसकेको जानकारी दिएका छन् । तर बस्नेत भने हाल राजधानी बाहिर रहेको समेत उनले बताए ।

[sidebar name="button post"]