२९ माघ, रसुवा । खेलकुदका गतिविधिलाई मर्यादित र व्यवस्थित बनाउन धुञ्चेमा निर्माण भएको खेल मैदानमा छेकावार लगाउने कार्य सम्पन्न भएको छ । रसुवा अस्पताल नजिक रहेको मैदानलाई फुटबल खेलको प्रमुखस्थलका रूपमा केन्द्रित गरिएको छ । मैदानमा खेलाडीबीच खेलिएका बल बाहिएका बखत भिरालो जमीनबाट टाढासम्म पुग्ने भएकाले छेकावारको व्यवस्थापन गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । विसं २०४२ मा हेलिप्याड र खेलमैदान प्रयोजनका लागि सानो आकारमा बनाइएको मैदानलाई फराकिलो पार्दै दर्शक बस्ने स्थान निर्माण गरिएको हो ।
खेल मैदानमा खेल मात्र खेलाउने र हेलिकप्टर अवतरण गर्ने मैदान निर्माणका लागि उपयुक्त स्थानको अध्ययन भइरहेको उक्त गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । यस्तै चिसोपनबाट हुने असर न्यूनीकरण गर्न उत्तरीभेकको ठूलोस्याफ्रुका ज्येष्ठ नागरिकलाई स्थानीय स्वास्थ्यकर्मीद्वारा निःशुल्क न्यानो कपडा वितरण गरिएको छ ।
हिमपातका कारण कठ्याङ्ग्रिएका जनजीवन सहज पारी ज्येष्ठ नागरिकको मनोबल उच्च पार्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका–५ ठुलोभार्खु निवासी बिएसी नर्स प्रतिमा स्याङ्वा लामाले आफ्नो निजी खर्चबाट न्यानो लुगा वितरणको साथै स्वास्थ्य सेवामा सहयोग गर्दै आउनुुभएको हो ।
नर्स स्याङ्वा लामाद्वारा ७० वर्ष माथिका ४८ ज्येष्ठ नागरिकलाई तातोखाले ज्याकेट तथा टाउजर वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण एवं प्राथमिक उपचारका औषधि वितरण भएको स्थानीयवासी पेमादोर्जे तामाङले बताउनुभयो । हिमपातको असरले जन जिवन कठ्याङ्ग्रिएको बेला घर अमगनमै पुगेर स्वास्थ्य क्षेत्रमा कार्यरत सामाजिक अभियान्ता स्याङ्वाको आफ्नो निजी सहयोग जनहितकारी भएको स्थानीय बासिन्दाले बताएका छन् ।
आफ्नो योग्यता एवं क्षमताबाट सीपको सदुपयोग गर्दै सामाजिक क्षेत्रको अलावा गत विगत वर्षदेखि दर्जनाँै विद्यालयका छात्रछात्रालाई पठनपाठनलगायत विविध सामग्री वितरण एवं स्वास्थ्यको चेतना अभिवृद्वि गराउँदै आउनुभएकी प्रतिमा समाजका लागि एक उदारणीय पात्रको रूपमा स्थापित हुँदै आउनुले भावी दिन उहाँकोे योगदान प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।
कोभिड–१९ को जोखिम अवस्थामा गाउँगाउँ टोलटोल पुगेर ज्वरो आउने टाउँको पेट दुख्ने, गानुगोला, सुगर एवं उच्च रक्तचाप, घाउ खटिरा जस्ता विविध समस्याको प्राथमिक उपचार एवं परामर्श दिई जनहितकारी कार्यमा महत्वपूर्ण सहयोग गर्नुभएको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।












